काठमाडौं– प्रतिनिधिसभामा राष्ट्रिय मान्यताप्राप्त दलहरूको सर्वदलीय बैठक आज बिहान ११ बजे बस्दै छ। सोमबार अवैध सुन तस्करी छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न सहमत भएका शीर्ष नेताहरूको बैठक मंगलबार बस्दै नबसी अचानक स्थगित भएको थियो।
सुन तस्करी प्रकरणबारे उच्चस्तरीय छानबिन समितिलाई अन्तिम रुप दिने सहमति जुटाउन आज सर्वदलीय बैठक बस्न लागेको हो। राजनीतिक गतिरोध अन्त्य गरेर संसद् फुकाउन प्रमुख दलहरू अझै सहमतिमा पुगेका छैनन्।
मंगलबार दिउँसो २ बजे बानेश्वरस्थित संसद् भवनमा बस्ने भनिएको बैठक एमाले अध्यक्ष केपी ओली नआएपछि स्थगित भएको थियो। मंगलबार नै दिउँसो २ बजे बैठक बसेर समितिको कार्यादेश, क्षेत्राधिकार र संरचना टुंगो लगाउने तयारी थियो।
सोमबार बेलुकी एमालेका सुवास नेम्बाङ, कांग्रेस प्रमुख सचेतक रमेश लेखक, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे रहेको कार्यदलले समितिको कार्यदेशबारे सैद्धान्तिक छलफल गरेको थियो। मंगलबार दलहरूबीच बैठक बसेर छानबिन समिति बनाउने कुरा निष्कर्षमा नपुग्दा प्रतिनिधिसभा बैठक सूचना टाँस गरेर स्थगित भएको थियो। संसद् बैठक आज बस्ने कार्यसूची छ।


