काठमाडौँ- काठमाडौँ महानगरपालिकाको ‘सञ्चार रजिस्ट्रार’मा महेश काफ्ले नियुक्त भएका छन्। सञ्चार, सूचना तथा तथ्याङ्क व्यवस्थापनलाई व्यवस्थित गर्न बनेको ‘सञ्चार तथा सूचना ऐन २०८०’ को दफा १८ बमोजिम उनलाई सञ्चार रजिस्ट्रार पदमा नियुक्त गरिएको महानगरले जानकारी दिएको छ।
काफ्ले सूचना प्रविधि विभागको प्रमुखमा सरुवा भएर आएका हुन्। यसअघि उनी सार्वजनिक निजी साझेदारी एकाईमा थिए।
स्थानीय पत्रपत्रिका, एफएम रेडियो, केवल टेलिभिजन, अनलाइन श्रव्यदृश्य माध्यम एवं अनलाइन पत्रपत्रिकाको अभिलेखन, नवीकरण र नियमन गर्ने र अभिलेखन भएका सञ्चार माध्यमहरुलाई कुनै खास स्थान, अवधि वा एक वर्षसम्मको प्रेस पास जारी गर्ने काम रजिस्ट्रारबाट हुने महानगरको भनाइ छ।
महानगरपालिकाको तथ्याङ्क र सूचना प्रविधि व्यवस्थापन, वेबसाइट, सामाजिक सञ्जाल, इमेल व्यवस्थापन, अनुगमन तथा नियमन गर्ने, महानगरपालिकाको सञ्चार प्रतिष्ठानको सदस्यसचिवका रुपमा काम गर्ने सञ्चार रजिस्ट्रारको जिम्मेवारी हुन्।


