काठमाडौं– पशुपतिनाथ दर्शन गरेर काठमाडौंबाट जनकपुर जाँदै गरेको बस बारामा दुर्घटनाग्रस्त हुँदा सात जनाको मृत्यु भएको छ भने १८ घाइते भएका छन्। भारतीय तीर्थयात्री बोकेको मधेस प्रदेश–०३–००१ ख ७९९४ नम्बरको बस बुधबार राती करिब १ बजे बाराको जितपुरसिमरा उपमहानगर–२२ चुरियामाईमा दुर्घटनाग्रस्त भएको हो।
बसमा सवार यात्रुमध्ये हालसम्म सात जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी होविन्द्र बोगटीले बताए। तीनको घटनास्थलमै र चार जनाको प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको उनको भनाइ छ। मृतकमध्ये एक नेपाली र ६ जना भारतीय रहेका छन्।
मृतकको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ। बसमा सवार घाइते १८ जनाको हेटौंडाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनामा चार महिला र तीन जना पुरुषको मृत्यु भएको छ। चालकसहित २७ यात्रु सवार उक्त चुरियामाई मन्दिरबाट १०० मिटर दक्षिण खोलामा खसेको बताइएको छ।


