स्याङ्जा–दलित समुदायको बाक्लो बस्ती भएको गाउँ हो, ‘छाप्राक’। गाउँमाथि राते पहरो छ। यही पहराका कारण छाप्राक जोखिममा छ। गाउँलेको एउटै पिरलो छ, कतिबेला के पो हुन्छ? पानी पर्दा होस् या पानी बिसाएपछिको चर्को घाम लाग्दा होस्। उनीहरुलाई उही राते पहराले निदाउन दिँदैन।
छाप्राकको बस्तीमा केही दिनअघि मात्रै पहराबाट दुई ठूला ढुंगा फुटेर आए। स्थानीय श्यामबहादुर सार्की पहराबाट फुटेर आएका दुई ढुंगा बस्ती नजिकै आएपछि थप त्रसित अवस्थामा गाउँले बसेको बताउँछन्।
‘फुटेर आएको ढुंगा घरको नजिकै आएको छ’, उनले भने, ‘घरभन्दा माथि बाँसघारी भएकाले ढुंगाको बेग कम भए पनि बाँस जरैपाई पल्टाएर ढुंगा घरैनेर आएको छ।’
बाँसघारीले गर्दा गाउँमा जनधनको क्षति हुन पाएन नत्र के हुन्थ्यो यसै भन्न सकिने अवस्था थिएन। उक्त पहिरोबाट १७ घर प्रत्यक्षरुपमा प्रभावित हुने सार्की बताउँछन्। ‘घरमा बस्दै गर्दा कतिखेर के हुने हो भन्ने कुराले पिरोलिरहन्छ’, उनले भने, ‘अन्त कहाँ गएर बस्नू? संख्या सानो भएको भए विद्यालयमा पनि अटिन्थ्यो होला गाउँ नै उठ्दा त्यो पनि सम्भव छैन।’
वालिङ–२ का वडाध्यक्ष पोतप्रसाद लम्साल गाउँमाथिबाट अकस्मात् दुई ठूला ढुंगा खस्दा घर नजिकैको बारीमा रोकिएका कारण जनधनको क्षति हुन नपाएको बताउँछन्। दलित समुदायको बाक्लो बसोबास रहेको छाप्राकमा जम्माजम्मी दुई सय चार घर छन्। उक्त पहिरोका कारण हालसम्म १७ घर उच्च जोखिममा छन् । अहिलेको अवस्था बढ्दै गएमा पूरै गाउँ नै जोखिममा पर्ने वडाध्यक्ष लम्सालले बताए।
‘बस्ती जोगाउनका लागि बस्तीभन्दा माथि बाँस लगाउँछौँ। यसबाट ढुंगागालाई रोक्ने र जनधनको क्षति हुन पाउँदैन’, उनले भने, ‘यहाँका स्थानीय त्रसित अवस्थामा छन्। उनीहरुले वडासँग बस्ती स्थानान्तरण गर्न मागसमेत गर्दै आएका छन्।’
बस्ती नजिकै ढुंगा खसेपछि गाउँले त्रसित छन्। केही दिनअघि जोखिम स्थलको स्याङ्जाका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेसहितको टोलीले स्थलगत अनुगमन तथा अवलोकन गरेको थियो। गाउँमाथि रहेको पहराबाट दुई ठूला ढुंगा चर्किएर खसेकाले गाउँलेमा डर उत्पन्न भएको उनले बताए। लगातार पानी परेर चर्को घाम लाग्दा ढुंगा फुट्ने र चर्कने भई खस्न सक्ने भएकाले सावधानी अपनाउनुपर्ने उनको भनाइ छ।
‘तत्कालै बस्ती सार्न सकिँदैन’, उनले भने, ‘दीर्घकालीन रुपमा यसको समाधानका लागि भौगर्भिक अध्ययन गरी चट्टानको अवस्था, जोखिमको अवस्थाबारे बुझेर के गर्दा उपयुक्त हुन्छ, सोहीअनुसार अगाडि बढ्छौँ।’–रासस


