काठमाडौं- मंगलबार बिहान बालुवाटारमा मार्चपास गर्न पुगेका मिटरब्याज पीडितहरू माइतीघरबाट संसद् भवन नयाँ बानेश्वरतर्फ लागेका छन्। माइतीघरमा विरोध प्रदर्शन गरी उनीहरू नयाँ बानेश्वरतर्फ लागेको छ।
आन्दोलनमा समर्थन जनाउन राजनीतिक दलका नेता र विभिन्न संघसंस्थाले ऐक्यबद्धता जनाउन पुग्ने क्रम जारी छ। मिटरब्याज पीडितको मार्चपास काठमाडौँ आइपुग्नेबित्तिकै यशोदादेवी भगवानसिंह मेमोरियल ट्रस्टलगायतले ऐक्यबद्धता जनाएको थियो। यस्तै जनमत पार्टीका नेता सीके राउतले पनि हिजै मार्चपासमा सहभागी भएर ऐक्यबद्धता जनाएका थिए।
मंगलबार आन्दोलनमा ऐक्यबद्धता जनाउन राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्तासमेत रहेका सांसद ज्ञानबहादुर शाही पनि पुगेका थिए। तर ज्ञानबहादुरलाई आन्दोलनकारीले फर्काएका थिए। राष्ट्रिय प्रजातन्त्र पार्टी राजतन्त्रवादी भएको र राजतन्त्र पनि सामान्तवादलाई नै प्रश्रय गर्ने तथा आफूहरू पनि सामन्तवादबाटै पीडित भएको भन्दै उनीहरूले फर्काएका थिए।
शाही पुग्नेबित्तिकै प्रदर्शनकारीले नाराबाजी गरेका थिए। ‘राजतन्त्र पक्षधर चाहिँदैन’ भन्दै प्रदर्शनकारीले नाराबाजी गरेका थिए।
काठमाडौँ महानगरपालिकाले खुलामञ्चमा प्रवेश गर्न नदिएपछि १२ दिन हिँडेर आइपुगेका मिटरब्याज पीडित रातभर सडकमा नै बस्न बाध्य भएका थिए।
उता काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले फेसबुकमा स्टाटस लेख्दै पीडितलाई पशुपति धर्मशालामा बस्ने प्रबन्ध मिलाए पनि नमानेको दाबी गरेका छन्। अभियानमा आफ्नो ऐक्यबद्धता भएको र यस्तो अवस्थामा कसैले पनि काठमाडौँ आउन नपरोस् भन्ने उनको स्टाटसमा उल्लेख छ। यद्यपि खुलामञ्चमा बस्न नदिएको विषयमा उनले उल्लेख गरेका छैनन्।
गत वर्ष २८ जेठदेखि १४ दिन र साउन १८ देखि ४७ दिन गरी दुई चरणमा ६१ दिन मिटरब्याजपीडितहरू काठमाडौँ आई धर्ना बसेका थिए। धर्ना बसेपछि सरकारले असोज १ गते उनीहरुसँग सम्झौता गरेको थियो। सम्झौतामा गृह मन्त्रालयले सुदखोरहरूको सम्पत्ति छानबिन गर्ने, पीडितलाई राहत प्रदान गर्ने उल्लेख थियो। तर उक्त सम्झौता कार्यान्वयन नभएको भन्दै पीडितहरू राज्यको ध्यान आकर्षण गर्न मधेशदेखि पैदलै काठमाडौँ आइपुगेका हुन्।


