काठमाडौं– १ असार २०७८ र १६ साउनमा एक्कासि आएको बाढीले तहसनहस मेलम्चीमा आज फेरि बाढी आएको छ। बुधबारदेखिको निरन्तर वर्षाका कारण हेलम्बु गाउँपालिका–४ स्थित मेलम्ची नदीमा बढी आएको हो।
निरन्तरको वर्षाका कारण सिन्धुपाल्चोकको हेलम्बु, मेलम्ची क्षेत्रमा बाढीबाट क्षति पुगेको छ। लगातारको वर्षाले मेलम्ची नदीमा आएको बाढीका कारण मेलम्ची–हेलम्बु सडक यातायात अवरुद्ध भएको छ। हेलम्बु गाउँपालिकाको पहलमा सडक खुलाउन थालिए पनि निरन्तर वर्षाको कारण सम्भव भएको छैन। मेलम्चीको सिमखेतमा पनि सडक अवरुद्ध भएको स्थानीय श्याम चालिसेले जानकारी दिए।
पानी परिरहेकाले सडक मर्मत गर्न समस्या रहेको नगरपालिकाले जनाएको छ। निरन्तर वर्षाका कारण हेलम्बु–४ स्थित सरस्वती माध्यमिक विद्यालयको शौचालय बाढीले बगाएकोे छ भने कक्षाकोठा उच्च जोखिममा परेको हेलम्बु गाउँपालिका उपाध्यक्ष अप्सरा लामिछानेले बताइन्।
‘अहिले विद्यालयका फर्निचरलगायतका सामान सार्ने काम भइरहेको छ’, उनले भनिन्, ‘वर्षा नरोकिएकाले विद्यालयसहित ग्याल्थुम बजार नै जोखिममा परेको छ।’ पानी पर्न सुरु गर्नासाथ स्थानीय त्रसित बन्दै खोलो हेरेर बस्नुपर्ने अवस्था रहेको उनको भनाइ छ।
बाढीले ग्याल्थुममा परीक्षा दिन जाने परीक्षार्थीलाई समस्या भएको स्थानीय श्याम लामिछानेले बताए। सरस्वती माध्यमिक विद्यालयको पढाइ आज बन्द रहने प्रधानाध्यापक कुमार घोरासैनीले जानकारी दिए।
शौचालय बगाएको वडाध्यक्ष बुद्धिमान तामाङले जानकारी दिए। मेलम्चीले धार परिवर्तन गरी कटान गर्दा विद्यालय उच्च जोखिममा परेको अध्यक्ष तामाङको भनाइ छ। पछिल्लो २४ घन्टा र यतिबेला पनिा मेलम्ची वरपर वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।


