काठमाडौँ- नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले चर्को ब्याजदरबाट उत्पन्न समस्यालाई तत्काल सम्बोधन गर्न सरोकारवाला निकायसंग पुनः आग्रह गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुसँग काठमाडौंको जमलस्थित चेम्बर भवनमा भएको भेटवार्ताका क्रममा अध्यक्ष मल्लले बैंक वित्तीय संस्थामा चर्को ब्याजदरका कारण समग्र अर्थतन्त्रलाई नै जोखिममा पारेको बताए।
‘पछिल्लो समय उच्च ब्याजदरले उद्योगी व्यवसायी एवं समग्र ऋणीहरु निकै मर्कामा परेका छन्। ऋण लिएर व्यवसायमा लगानी गर्नसक्ने अवस्था छैन। यसअघि ऋण लिएकाहरुले समेत सावाब्याज भुक्तानी गर्न सक्ने अवस्था छैन,’ उनले भने, ‘यसले समग्र व्यवसायलाई नै जोखिमतर्फ धकेलिरहेको छ।’
उद्योग व्यवसायमा पछिल्लो समय देखिएको मन्दीको असर अर्थतन्त्रमा दीर्घकालसम्म पर्नेतर्फ अध्यक्ष मल्लले सांसदहरुको ध्यानकर्षण गराए।
ब्याजदर नियन्त्रणसंगै अर्थतन्त्रका अन्य चुनौतीलाई पनि सम्बोधन गर्नुपर्ने अध्यक्ष मल्लले बताए।
‘पुँजीगत खर्च हुन सकेको छैन। सार्वजनिक ऋण कुल गार्हस्थ्य उत्पादन जीडीपीको ४२ प्रतिशत हाराहरीमा पुगिसकेको छ। आन्तरिक उत्पादन ठप्प हुँदा व्यापार घाटा आकासिएको छ। रोजगारी सिर्जना हुन सकेको छैन,’ उनले भने, ‘आम सर्वसाधरण नागरिकसंग जोडिएका विषयलाई संसदबाट प्रभावकारी रुपमा आवाज उठ्न जरुरी भइसक्यो।’


