काठमाडौँ– नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्देम्बेले काठमाडौं महानगरपालिकाका नगरप्रमुख बालेन साहलाई पार्टीमा ल्याउने वातावरण बनाउन क्षेत्रीय भेलालाई आग्रह गरेका छन्।
नेपाली कांग्रेसको काठमाडौंमा आयोजित क्षेत्रीय भेलालाई सम्बोधन गर्दै युवा पुस्तामाझ सामान्य र क्रियटिभ काम गरेरै काठमाडौंका स्वतन्त्र नगर प्रमुख बालेन साह चर्चामा रहेको बताए। क्रियटिभ अभियानको नेतृत्व गरेका साहलाई कांग्रेसमा ल्याउने वातावरण बनाउन आङ्देम्बेको आग्रह थियो।
‘अब त्यो अभियानको नेतृत्व नेपाली कांग्रेसले नै गरेर बालेनजी जस्तो क्रियटिभ साथीलाई पनि पार्टीविहीन बस्न नदिने। अब उहाँलाई पनि कांग्रेसमै ल्याउने वातावरण पनि यही नेपाली कांग्रेसले गर्नुपर्छ। यसको लागि पनि क्षेत्र नं. तीनबाट तपाइँहरुले सुरु गर्नुहोस्,’ उनले भने।
तर, उनले आफ्नो पार्टीले काठमाडौँ र देश विकासको लागि नेतृत्व गर्दै अरबौंको भौतिक संसचना निर्माण गरेपनि त्यसको प्रचार नगरेको दाबी गरे। ‘जसको कुनै पार्टी छैन् र पनि सगरमाथा भन्दा अग्लो चर्चाको शिखरमा हुनुहुन्छ बालेन साह। हामीले के कुरा बिर्सिराख्यौ भन्दाखेरी नेपाली कांग्रेसले करोडौं खरबौँ खर्च गरेर काठमाडौं र यो मूलुकलाई व्यवस्थित गर्नको निम्ति पुल पुलेसाहरु,भौतिक संरचनाहरु बनाईदिएको छौं। हामीले करोडौँ, अरबौँको पुलको कुरा कहिल्यै पनि गरेनौँ,’ उनले भने।
सहमहामन्त्री आङदेम्बेले महानगर सुन्दर बनाउने अभियानमा बालेन साहको नेतृत्वमा बिजुलीबजारको पुलमा राखिएको फूलको गमला र त्यसको सौन्दर्यको चर्चा धेरै भएको धारणा राख्दै बालेनको विकास मोडेल कांग्रेसले अपनाउनुपर्ने बताए।
‘पुलमाथि राखिएको गमलाको कुरा गरिराख्यौँ। गमलामा रोपेको फूलको कुरा गरिराख्यौँ। गमला र फूलसँगको त्यो चर्चामा मात्रै हामीहरु रमायौँ। यो नराम्रो थिएन। आजको पुस्ता सेल्फी खिच्ने र टिकटकको पुस्ता रहेछ। त्यो टिकटक पुलसँग नबन्दो रहेछ। त्यो शेल्फी पुलसँग नखिचिँदो रहेछ,’ उनले भने, ‘सेल्फी खिच्नको लागि गमला र फूल नै चाहिँदो रहेछ। अनि पुलको हैन गमला र फुलको मात्रै चर्चा भयो,’ उनको प्रश्न थियो, ‘त्यसकारण हामी पुल बनाउने पार्टीले १००० रुपैयाँको गमला किन राख्न सक्दैन? गमला राखिसके पछाडि ५०० को फूल किन राख्न सकेन?’


