काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल कोसी, मधेस र बामगती प्रदेशसहितका भूभागमा सामान्य र गण्डकी प्रदेशमा ठूलो वर्षा हुने सम्भावना रहेको जनाएको छ।
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरमा अवस्थित रहेको र बंगलादेशको उत्तरी भू–भागमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव नेपालमा परेकाले अझै केही दिन पानी पर्ने महाशाखाले बताएको छ।
यतिबेला कोसी, मधेस र बागमतीका केही स्थानमा र बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। मधेस र लुम्बिनीका तराईका केही स्थानमा हावा–हुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ। आज राती कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पूर्वानुमान महाशाखाको छ।
यस्तै, आज राती गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङसहित भारी वर्षाको सम्भावना छ। वर्षाका कारण नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू–क्षयजस्ता प्रकोप हुन सक्ने भएकाले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
पछिल्लो तीन घन्टामा बाराको निजगढ, अमलेखगञ्ज, सर्लाहीको कर्मैया र आसपास क्षेत्रमा भारी वर्षा भएकाले सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। वर्षाका कारण बकैया नदीसहित त्यस क्षेत्रमा बहने साना ठूला नदीहरुमा जोखिम बढेको छ।
संखुुवासभाको खाँदबारी र तुम्लिङटार, धनकुटा लगायतका क्षेत्रमा पनि ठूलो पानी परेको छ। पछिल्लो तीन घन्टामा मकवानपुरको मकवानपुरगढी, कास्कीको लुम्ले र जुम्लेटी, पर्साको ठोरी, बाराको कलैया र परवानीपुर वर्षामापन केन्द्रमा पनि भारी वर्षा भएकाले आसपासका क्षेत्रमा सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।


