काठमाडौँ- संसदीय समितिका सभापति बनाउनका लागि सत्ता पक्ष र प्रमुख प्रतिपक्षका साझा उम्मेदवारको टुंगो लागेको छ। १० वटै विषय समिति सभापतिको निर्वाचन सोमबार दिउँसो ३ बजेका लागि निर्धारण गरिएकोमा उम्मेदवार तय भएका हुन्।
संसदीय समितिका सभापतिमा नेपाली कांग्रेसले ४, नेकपा एमालेले ३, नेकपा माओवादी केन्द्रले २, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र जनमत पार्टीले १-१ वटा समितिको सभापतिमा उम्मेदवारी दिने सहमति यसअघि नै भइसकेको छ।
माओवादीबाट विकास समिति सभापतिमा माधव सापकोटा र कानुन समितिमा विमला सुवेदीको उम्मेदवार बन्ने भएका छन्। कांग्रेसबाट राज्यव्यवस्था समिति सभापतिमा रामहरि खतिवडा, अर्थ समितिमा सन्तोष चालिसे र कृषि समितिको सभापतिमा आरजू देउवाको उम्मेदवारी टुंगो लागेको छ।
यस्तै, अन्तर्राष्ट्रिय समितिमा जसपाबाट राजकिशोर यादव उम्मेदवारी पर्ने भएको छ। एमालेबाट सार्वजनिक लेखा समितिमा ऋषि पोखरेलको उम्मेदवारी पर्ने निश्चितजस्तै छ। महिला समितिमा एमालेबाटै किरण साहको उम्मेदवारी पर्ने तय भएको छ।
उद्योग समितिमा जनमत पार्टीबाट अब्दुल खान र शिक्षा समितिमा एकीकृत समाजवादीबाट भानुभक्त जोशीको उम्मेदवारी तय भएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले पूर्वाधार विकास समितिको सभापति पाउने भएको छ। राप्रपाले समितिको सभापतिमा दीपक सिंहलाई अघि सार्ने भएको छ। रास्वपालाई पनि एक समितिको सभापति दिन सत्तारुढ दलहरु तयार भएका छन्।
प्रतिनिधिसभाका १० र दुई वटा संयुक्त समितिका सभापति चयन हुन बाँकी छ।


