काठमाडौँ- संसदीय समितको नेतृत्वका लागि सांसदहरूले उम्मेदवारी दर्ता गराउने क्रम जारी छ। नयाँ बानेश्वरस्थि संसद भवन परिसरमा विभिन्न दलका सांसदहरूले संसदीय समितको नेतृत्वका लागि उम्मेदवारी मनोनयन गरिरहेका हुन्।
नेकपा माओवादी केन्द्रले कानुन, न्याय तथा मानवअधिकार समितिको सभापतिका लागि विमला सुवेदीलाई उम्मेदवार बनाएको छ। सुवेदीको प्रस्तावकमा माओवादी सांसद पूर्णबहादुर घर्ती र समर्थकमा कांग्रेस सांसद रमेश लेखक, एमाले सांसद महेश बर्तौला र राप्रपा सांसद ध्रुवबहादुर प्रधान छन्।
यसअघि सत्ता र प्रमुख प्रतिपक्षबीचको भागबन्डामा माओवादी केन्द्रले विकास समिति र कानुन, न्याय तथा मानवअधिकार समितिको सभापतिमा माओवादी केन्द्रका सांसद माधव सापकोटाले उम्मेदवारी दिने तय भएको थियो। तर उक्त समितिको नेतृत्व राप्रपालाई दिन माओवादी तयार भएको छ।
पूर्वाधार तथा विकास समितिको सभापति राप्रपाबाट दीपक सिंह उम्मेदवार हुने भएका छन्।
राज्य व्यवस्था समिति सभापतिका लागि कांग्रेसका रामहरि खतिवडाले उम्मेदवारी दर्ता गराएका छन्। कांग्रेसकै आरजु राणा देउवाले कृषि समिति सभापतिका लागि उम्मेदवारी दिएकी छन्।
महिला समिति सभापतिका लागि किरण कुमार शाहले मनोनयन गराउँदा लेखा समिति सभापतिका लागि एमालेका ऋषिकेश पोख्रेलले उम्मेदवारी दिएका छन्।









