काठमाडौं- अन्सु फाती अर्थात् ला मासियाका स्टार, जसले बार्सिलोनाको प्रसिद्ध १० नम्बरको जर्सी प्राप्त गरे। उनै फाती अहिले क्याटलान क्बलको रोजाइमा छैनन्। प्रशिक्षक जाभी हर्नान्डेजको नजरबाट उनी विस्तारै ओझेल पर्दै गएका छन्। ट्रान्सफर विन्डो बन्द हुनुअघि फातीले बार्सिलोना छाड्न सक्ने अनुमान गरिएको छ।
फातीलाई बार्सिलोनाका भविष्यका स्टारका रूपमा हेर्न थालिएको थियो। बार्सिलोनाको एकेडेमी ला मासियाका उत्पादन हुन्, फाती। उनी विंगबाट क्रस गर्न, विपक्षी डिफेन्डरसँग भिड्न र सटिक रूपमा घातक प्रहार गरी गोल गर्न रुचाउथे। यसैकारण उनलाई बार्सिलोनाका लिजेन्ड लियोनल मेस्सीसँग तुलना गरिन्थ्यो। बार्सिलोनाका अर्का मेस्सीका रूपमा हेरिन्थ्यो।
बार्सिलोनामा रहँदा १२ महिनासम्म फातीले शानदार दिन बिताए। त्यो बेला लाग्थ्यो- उनी मेस्सीको विरासत धान्न तयार छन्। सन् २०१९ को अगस्टमा बार्सिलोनाको सिनियर टोलीमा डेब्यू गरेका उनले करिब एक वर्षसम्म ला लिगामा तहल्का मच्चाए। थुप्रै रेकर्ड तोडे। सुरुवाती करियरको तुलना गर्ने हो भने गोलको तथ्यांकमा फाती मेस्सी भन्दा उत्कृष्ट देखिन्थे। सबैभन्दा महत्वपूर्ण कुरा त उनले रोमाञ्चक फुटबल खेले। त्यो बेला विश्लेषण गरिन्थ्यो, ‘उनी अर्का मेस्सी हुन्, जसमाथि बार्सिलोनाले बर्षौंसम्म भरोसा गर्न सक्नेछ।’
फातीको समय एकनाश चलेन। उनी चाँडै चोटबाट ग्रस्त हुन पुगे। घुँडाको समस्याबाट मुक्ति पाउनै सकेनन्। परिणामस्वरुप मांशपेशीसम्बन्धी समस्याको लामै शृंखला सामना गर्नुपर्ने अवस्थामा पुगे। बार्साको सिनियर टोलीमा डेब्यू गरेको चार वर्षपछि अहिले चर्चामा छ- फातीको बहिर्गमन। उनले बार्सा छोड्न सक्ने सम्भावना अधिक छ।

यस्तो विषम परिस्थितिमा कसरी पुगे त फाती? थाहा पाउन उनको करियरलाई नजिकबाट हेर्नुपर्ने हुन्छ। उनी एक यस्ता खेलाडी हुन्, जसलाई कुनै बेला विश्वका सर्वश्रेष्ठ खेलाडीमध्येका एक मानिन्थ्यो। बार्साको विरासतलाई अघि बढाउने ल्याकत राख्ने स्टारका रुपमा लिइन्थ्यो। तर समयले कोल्टो फेर्दा आज २१ वर्ष नटेक्दै फाती बार्सा छाड्ने अवस्थामा छन्।
फातीको करियर
फाती सन् २०१८-१९ को सिजनमा अधिंकाश समय बार्साको युवा टोलीका महत्त्वपूर्ण हिस्सा थिए। त्यही सिजनमा उनले बार्सिलोनासँग प्रोफेसनल सम्झौता गरे। त्यही सम्झौतापछि उनको स्टारडम ह्वात्तै बढ्यो।
बार्सिलोनाको सिनियर टिममा फातीले २०१९ अगस्ट २५ मा शानदार डेब्यू गरेका थिए। खेलाडीको चोटका कारण हैरान बनेको बार्सिलोनालाई सुदृढ टिमको आवश्यकता थियो। त्यसका लागि फाती उपयुक्त खेलाडी थिए। त्यो बेला लुइस स्वारेज र लियोनल मेस्सी घाइते थिए। क्याम्प नोउमा रियल बेटिसविरुद्ध ७८औँ मिनेटमा मैदान प्रवेश गर्दै उनले डेब्यू गरेका थिए। योसँगै उनी बार्सिलोनाको इतिहासमा सबैभन्दा कम उमेरमा डेब्यू गर्ने दोस्रो खेलाडी बनेका थिए।
त्यसको एकसाता पछि ओसासुनाविरुद्ध फातीले पहिलो गोल गरे। उनको उत्कृष्ट प्रदर्शनका बाबजुद बार्सिलोनाले जित भने निकाल्न सकेन। खेल २-२ को बराबरीमा सकियो। तर फाती भने क्लबको इतिहासमै सबैभन्दा कम उमेरमा गोल गर्ने खेलाडी बनेर इतिहास दर्ज गरे। त्यो बेलासम्म फातीले सुरुवाती ११ मा स्थान बनाउन सकेका थिएनन्। तर २०१९ सेप्टेम्बर १४ मा उनले भ्यालेन्सियाविरुद्ध सुरुवाती ११ मा स्थान बनाएका थिए। त्यो खेलमा १६ वर्षका फातीले स्वप्निल प्रदर्शन गरेका थिए। ७ मिनेटभित्र उनले गोल मात्रै गरेनन्, असिस्ट पनि गरे। उनको शानदार प्रदर्शनको सहयोगमा बार्सिलोनाले भ्यालेन्सियालाई ५-२ गोलले पराजित गर्यो। विपक्षी डिफेन्डस लाइनलाई चिर्दै फ्रांकी डिजोङलाई सुन्दर पास उपलब्ध गराएका थिए।

फातीले रेकर्ड बनाउने र तोड्ने क्रम जारी नै थियो। २०१९ को डिसेम्बर ११ मा उनले च्याम्पियन्स लिगमा अर्को एउटा रेकर्ड तोडेका थिए। इन्टर मिलानविरुद्ध खेलको सुरुवातमा कार्लेस पेरेजले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए। तर ४४औँ मिनेटमा रोमेलु लुकाकुले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए। यसको मतलब बार्सिलोनाका लागि सान सिरोमा महत्वपूर्ण जित निकाल्नका लागि एक शानदार प्रदर्शनको आवश्यकता थियो। त्यो आवश्यकतालाई फातीले पूर्ति गरिदिए। बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका पेरजको स्थानमा ८५औं मिनेटमा मैदान छिरेका फातीले एक मिनेट नबित्दै स्वारेजको पासमा शानदार गोल गरेका थिए। उनको त्यो गोलले बार्सिलोना विजयी बन्यो। सँगै फातीले अर्को शानदार रेकर्ड समेत बनाए। उनी च्याम्पियन्स लिगको इतिहासमा सबैभन्दा कम उमेरमा गोल गर्ने खेलाडी बनेका थिए। यो रेकर्ड अहिले पनि उनकै नाममा छ।
सन् २०२० को अगस्टमा फातीलाई स्पेनको सिनियर टोलीमा बोलाइयो। नेसन्स लिग खेल्ने टोलीमा उनलाई समावेश गरियो। उनले सेप्टेम्बर ३ मा स्पेनको सनियर टोलीबाट जर्मनी विरुद्धको खेलमा डेब्यू गरे। जुन खेल १-१ को बराबरीमा सकिएको थियो। फाती राष्ट्रिय टिमका लागि डेब्यू गर्ने सबैभन्दा कम उमेरका खेलाडी बनेका थिए।
६ सेप्टेम्बर २०२० मा फाती स्पेनका लागि पहिलो गोल गरेका थिए। स्पेनका तत्कालीन प्रशिक्षक लुइस इनरिकेले फातीलाई युक्रेन विरुद्ध पहिलो रोजाइमै मैदान उतारे। इनरिकेको विश्वासलाई फातीले टुट्न दिएनन्। उनले युक्रेन विरुद्ध गोल गरेका थिए।
अक्टोबर २०२० मा भएको एल क्लासिको बार्सिलोनाका लागि यादगार रहेन। अक्टोबर २४ मा घरेलु मैदानमा रियल मड्रिड विरुद्ध बार्सिलोना ३-१ गोलले पराजित भयो। तर, फातीले भने जोर्डी आल्बाको पासमा गोल गर्दै एल क्यालसिकोको इतिहासमा सबैभन्दा कम उमेरमा गोल गर्ने खेलाडीको रेकर्ड दर्ज गरेका थिए।
अनि सुरु भयो चोटको शृंखला
फातीको करियरको राम्रो समयावधि छोटो भइदियो। ७ नोभेम्बर २०२० मा उनले चोट बोक्न पुगे। रियल बेटिसविरुद्ध जित निकालेको खेलमा फातीको बाँया घुँडा नराम्ररी बटारिन पुग्यो। सुरुमा बार्सिलोनाले उनको चोट गम्भीर नभएको बताएको थियो। तर केही दिनपछि गरिएको परिक्षणमा उनको घुँडाको जोर्नी फुटेको पत्ता लाग्यो। जुन चोट फातीको करियरको सबैभन्दा खराब थियो। सर्जनले च्यातिएको लिगामेन्टलाई सिलाएर उपचार गर्ने विकल्प चुने। बार्सिलोना गम्भीर चोट लागेका फाती चाँडै मैदान फर्किउन् भन्ने चाहन्थ्यो। जसका कारण फातीलाई आवश्यकभन्दा दुई गुणाबढी ‘फिजियो’ गराइयो। जसका कारण उनको घुँडा फेरि सुन्नियो। सुधार हुने क्रम रोकियो।
दुई महिनापछि उनको चोट सुधारका लक्षण त देखिए तर लिगामेन्ट पूर्णरुपमा ठीक हुन सकेन। उनले फेरि अर्को सर्जरीको चक्कर काट्नु पर्यो। ४ जनवरी २०२१ मा उनको अर्को सर्जरी भएको थियो। जसलाई बार्सिलोनाले ‘रिजेनेरेटिभ बायोलोजिकल ट्रिटमेन्ट’ का रुपमा व्याख्या गरेको थियो। तर, यो उपचारले पनि फातीको चोटलाई ठिक पार्न सकेन। बार्सिलोनाले फातीका अघि अर्को जटिल विकल्प सारेको थियो। जुन विकल्पमा फातीले ‘मेनिस्कस’ लाई हटाउनु पर्ने थियो। तर दीर्घकालमा हुन सक्ने जटिलतालाई हेरेर क्लबले अघि सारेको विकल्पलाई फातीले अस्वीकार गरिदिए।

२०२१ को मार्चमा फातीको अर्को अप्रेसन भयो। यो तेस्रो अप्रसेन थियो। तर तेस्रो अप्रेसन पनि प्रभावकारी हुन सकेन। सोही कारण बायाँ घुँडा सुन्निने र दुखिरहने समस्याले फातीलाई सताइरह्यो। त्यसपछि उनले तीन पटक सर्जरी गर्ने डाक्टरलाई छाडे। अनि २०२०-२१ को सिजनभरी मैदान बाहिरै रहे। २०२१ को मार्चमा उनले आफन्त र नजिकका साथीहरुको सल्लाह अनुसार च्यातिएको ‘मेनिस्कस’लाई हटाउने निधो गरे। यो बाहेक उनका सामु अर्को विकल्प थिएन। तर यसका कारण दीर्घकालिन समस्या पैदा हुने जोखिम पनि उत्तिकै थियो। भविष्यमा लाग्न सक्ने चोटबाट बच्न फातीले घुँडा र आसपासको मांशपेशीको ख्याल राख्नुपर्ने थियो। यद्यपि ६ महिनामा उनको चौथो पटक अप्रेसन भयो। यो निकै जोखिमपूर्ण थियो।
अनि पाए आइकनिक जर्सी
फाती निकै खराब स्थितीबाट गुज्रिरहेका थिए। तर क्लबको भरोसा उनीप्रति कायमै थियो। मेस्सीलाई २०२१ को सिजनको सुरु हुनुअघि पेरिस सेन्ट जर्मेन जान बाध्य बनाइयो। मेस्सीले क्लब छाडेपछि बार्सिलोनाको आइकनिक १० नम्बर जर्सी खाली भयो। क्लबले आफ्ना युवा स्टार फातीलाई यो जर्सी दिने निर्णय गर्यो। जुन बेला उनले १० नम्बर जर्सी पाए त्यो बेला उनले बल नछोएको ९ महिना भइरकेको थियो। क्लबको निर्णयलाई फातीले सहजै स्वीकारे। त्यो बेला बार्सिलोनाले भनेको थियो, ‘केवल १८ वर्षको उमेर र चोटबाट गुज्रिरहेका अन्सु फाती एक रेकर्ड ब्रेकर खेलाडी हुन्। उनी स्पेनिस राष्ट्रिय टोली र बार्सिलोनाको इतिहासका हिस्सा हुन्।’
२०२१ को सेप्टेम्बरमा फातीले कमब्याक गरे। कमब्याक गरेको खेलमा उनी निकै प्रभावशाली देखिएका थिए। लेभान्टेविरुद्धको खेलको अन्तिम मिनेटमा उनले गोल गरे। १० नम्बर जर्सी उनी माथि भारी परेन, बरु उनले आइकनिक जर्सीको विरासत थाम्ने संकेत गरे।
सोही वर्षको अक्टोबरमा उनले बार्सिलोनासँग दीर्घकालीन सम्झौता गरे। सन् २०२७ सम्मका लागि उनले क्लबसँग सम्झौता गरेका थिए। बार्सिलोनाले उनको रिलिज क्लज १ बिलियन तोक्यो। जुन बार्सिलोनाले फाती माथि देखाएको भरोसा थियो। त्यो बेला बार्सिलोनाको वित्तिय स्थिती गडबड थियो। त्यो बेला म्यानचेस्टरका दुवै क्लबले फातीमाथि नजर राखेका थिए। तर फातीले बार्सिलोनामै रहने निर्णय गरेका थिए।
चोटबाट मैदान फर्किएर उत्कृष्ट खेल पस्कने प्रयत्नमा थिए- फाती। ६ खेलमा २ गोल गरेका थिए। तर उनलाई फेरि अर्को चोटले पिरोल्यो। यसपटक उनको तिघ्राको मांशपेशीमा समस्या देखियो। यो चोटका कारण उनले देश र क्बलका लागि दुई महिनामा १३ खेल गुमाए। उनको घुँडाको समस्या तत्कालका लागि समाप्त त भएको थियो, तर योसँग जोडिएको समस्या सहजै हट्ने संकेत भने देखिएको थिएन।
मांसपेशीको चोट निको भएर मैदान फर्किएपछि फातीले फेरी एकपटक मैदानमा आफूलाई प्रमाणित गरे। सन् २०२२ जनवरी १२ मा भएको रियल मड्रिडविरुद्ध स्पेनिस सुपर कपको फाइनल खेलमा उनले कमब्याक गरेका थिए। सो खेलमा उनले पेड्रिको क्रसमा गोल गरेका थिए। तर उनी लामो समयसम्म फिट रहन भने सकेनन्। २० जनवरीमा भएको कोपा डेल रे को अन्तिम १६ मा एथ्लेटिक क्लब विरुद्धको खेलको ४०औं मिनेटमा फातीले चोट बोक्न पुगे। बार्सिलोनाले उनलाई पुनः सर्जरी गर्न भनेको थियो। तर उनले बार्सिलोनाको सिफारिसलाई अस्वीकार गरेका थिए। उनी तीन महिना मैदान बाहिर रहेका थिए। यो सिजनका अन्तिम ५ खेल खेलेका थिए। उनले बेटिसविरुद्धको खेलमा गोलसमेत गरेका थिए।
२०२२-२३ को सिजन भने फातीले ठिकठाक सुरु गरेका थिए। उनले प्रि-सिजनमा राम्रो प्रदर्शन गरेका थिए। भलै रोबर्ट लेवान्डोस्की र राफिन्हा आएपछि उनले कम मौका पाउने अवस्था थियो। तर प्रि सिजनमा उनलाई प्रशिक्षक जाभीले आफूलाई प्रमाणित गर्ने मौका दिएका थिए।

ला लिगा पहिलो खेलमा भने उनले सुरुवाती ११ मा स्थान बनाउन सकेनन्। तर रियल सोसिडाड विरुद्धको खेलमा भने उनले प्रभावशाली प्रदर्शन गरेका थिए। बार्सिलोनाले ३-१ गोलले जितेको खेलमा फातीले गोल गरेका थिए।
अन्त्यको सुरुवात
मार्च २०२३ मा फातिका लागि सबै कुरा ठिकठाक चलिरहेको थियो। यद्यपि उनलाई जाभीले नियमित रूपमा खेलाइरहेका थिएनन्। केही छिटफुट मौका दिएका थिए। यद्यपि उनले २०१९ पछिको आफ्नो उत्कृष्ट सिजनको आनन्द लिरहेका थिए।
यही बीचमा फातीका पिता बोरीले स्पेनीश रेडियोमा दिएको प्रतिक्रियाले अवस्था बदलियो। बोरी आफैं पनि पूर्व प्रोफेसनल खेलाडी हुन्। उनी आफ्ना कुरा राख्न हिचकिचाउँदैनन्। फातीका बारेमा उनले यसरी नै रेडियोमा कुरा राखे। उनले फातीलाई प्रशिक्षक जाभीले पर्याप्त समय नदिएको आरोप लगाए। उनी यतिमै रोकिएनन् फातीले क्बल छाड्नुपर्ने बताए। अझ महत्वपूर्ण कुरा त फातीले रियल मड्रिडमाथि विचार गर्नुपर्ने बताए। उनले भनेका थिए, ‘यदि रियल मड्रिडले चाहन्छ भने फातीले यसबारे विचार गर्नुपर्छ।’
फातीका पिताको यो बयानपछि बार्सिलोना र फातीबीचको सम्बन्ध माथि थुप्रै प्रश्न उब्जिएका छन्। जारी ट्रान्सफर विन्डोमा सक्रिय हुन बार्सिलोनालाई धन जुटाउनुपर्ने आवश्यकता छ। अहिले यस्तो प्रतीत हुन थालेको छ, फाती एक खेलाडी हुन्, जसमाथि आर्सनल र यूरोपका अन्य शीर्ष क्लबले रुचि देखाइरहेका छैनन्। बार्सिलोका प्रशिक्षक जाभीले पनि फाती माथि खासै रुचि देखाएका छैनन्। १६ वर्षीय लेमिन यमलले उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। उनलाई ‘नयाँ मेस्सी’कारुपमा चित्रित गर्न थालिएको छ। फातीको स्थान यमलले कब्जा गरेका छन्। यी सबै घटनाक्रमलाई हेर्दा फाती २१औं जन्मोत्सव अगावै क्याटलोनियाबाहिर हुन सक्नेछन्।
(गोल डटकमबाट भावानुवाद गरिएको हो।)


