काठमाडौं– सर्वोच्च अदालतले आजदेखि न्यायका उपभोक्तालाई छिटो र सहज रुपमा न्याय दिने उद्देश्यले पेशी तारिखका लागि स्वचालित (अटोमेसन) प्रणाली लागू गर्ने भएको छ। साताअघि सर्वोच्चको नेतृत्वमा पुगेका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आजदेखि मुद्दाको पेशी तारिखका लागि स्वचालित प्रणाली लागू गर्न लागिएको जानकारी दिएका हुन्।
‘पहिला सर्वोच्चमा परीक्षणका रुपमा मुद्दाको पेशी तारिख अटोमेसन प्रणालीबाट सुरु गरिन्छ। परीक्षण सफल भए काठमाडौं जिल्ला अदालत र धेरै मुद्दा भएका अदालतमा प्रयोगमा ल्याइनेछ’, प्रधानन्यायाधीश श्रेष्ठले भने। यो प्रविधि सर्वोच्चको सूचना प्रविधि शाखाले बनाएको उनको भनाइ छ। प्रधानन्यायाधीश श्रेष्ठले यसको प्रयोग सफल भए न्यायसम्पादनमा सबैलाई फाइदा पुग्ने दाबी गरे।
न्यायाधीश नियुक्ति प्रक्रिया जतिसक्दो छिटो गर्न आफू लागिरहेको र सक्षम न्यायाधीश नियुक्ति गरेर न्यायलयप्रति जनआस्था बढाउन काम गर्ने प्रतिबद्धता व्यक्त गरे। ‘न्यायाधीश नियुक्ति प्रक्रिया अघि बढिसकेको छ। न्यायाधीशको संख्या कम हुँदा न्याय सम्पादनमा कठिनाइ भइरहेको छ’, प्रधानन्यायाधीश श्रेष्ठले भने, ‘सक्षम न्यायाधीश नियुक्ति हुनेमा विश्वास दिलाउँछु।’
नेपालको ३१औं प्रधानन्यायाधीशका रुपमा श्रेष्ठ ४ भदौमा नियुक्त भएका थिए। उनले ५ भदौमा पद तथा गोपनीयताको सपथ लिएर पद वहाली गरी काम थालेका थिए। न्यायालय र कानुनको क्षेत्रमा कलम चलाउने पत्रकारको संस्था न्यायिक मञ्चले आइतबार प्रधानन्यायाधीश श्रेष्ठलाई बधाइसहित कार्यकालयको शुभकामना दिने बेला श्रेष्ठले आजदेखि मुद्दाको पेशीलाई अटोमेसन प्रणालीमा लगिने जानकारी दिएका थिए।


