काठमाडौं- प्रतिनिधि सभाअन्तर्गतका १० वटै विषयगत समितिका सभापतिहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। निर्विरोध रुपमा सभापतिमा छानिएपछि प्रतिनिधि सभाका १० वटा र संयुक्त एक गरी ११ समितिका सभापतिले पद तथा गोपनीयताको शपथ लिएका हुन्।
प्रतिनिधि सभा गठन भएको झन्डै १० महिना पुग्न लागेपछि विषयगत समितिले नेतृत्व पाएका हुन्। गत वैशाख १५ गते मात्रै समितिहरु गठन भएका थिए।
जनमत पार्टीका उपाध्यक्ष अब्दुल खान उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा निर्विरोध भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पराजुलीले उम्मेदवारी फिर्ता लिएपछि खान सर्वसम्मत सभापति चुनिएका हुन्।
आइतबार नै सार्वजनिक लेखा समिति सभापतिमा ऋषिकेश पोखरेल र महिला बालबालिका तथा सामाजिक समितिको सभापतिमा किरण साह सर्वसम्मत भएका थिए। उनीहरू एमालेका सांसद हुन्।
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा कांग्रेसकी आरजू राणा देउवा सर्वसम्मत हुँदा कांग्रेसकै रामहरि खतिवडा राज्य व्यवस्था समिति सभापति बने। सन्तोष चालिसे अर्थ समितिको सभापतिमा सर्वसम्मत भएका छन्। उनीहरू कांग्रेस कोटाबाट सभापतिसम्म पुगेका सांसद हुन्।
कानुन, न्याय तथा मानव अधिकार समितिको सभापतिमा माओवादी केन्द्रकी विमला सुवेदी, पूर्वाधार विकास समितिको सभापतिमा राप्रपाका दीपकबहादुर सिंह, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सभापतिमा जसपाका राजकिशोर यादव, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा एकीकृत समाजवादीका भानुभक्त जोशी सर्वसम्मत भएका थिए।








