काठमाडौँ- शनिबार चार प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले कोशी, मधेश र बागमती प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बताएको हो।
देशका बाँकी भू–भागका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। राति पनि देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान साथै बाँकी भू–भागका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
महाशाखाका अनुसार राति मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
जलवाष्पयुक्त वायुका कारण आज दिउँसो र राति केही स्थानहरूमा भारी वर्षा हुने सम्भावना देखिएको मौसमविद् रोजन लामिछानेले जानकारी दिए।
‘मनसुन अझै कायम भएकाले भारी वर्षा हुने, रोकिने क्रम चलिरहन्छ,’ उनले भने। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको उत्तरतिर अवस्थित छ।
साथै नेपालमा बंगालको खाडीको उत्तर–पूर्वी भागमा विकसित न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव छ।
आज बिहान देशको पहाडी भू–भागमा आंशिक बदली रही लुम्बिनी र गण्डकी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ। देशभर आंशिकदेखि सामान्य बदली रहनेछ।
वर्षाका कारण नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू–क्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।


