महेन्द्रनगर (धनुषा)- नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले वर्तमान संविधानमाथि नै खतरा रहेको बताएका छन्। देशैभरि स्थानीय नेता, कार्यकर्ताको मत बुझ्दा अहिलेको अवस्थामा संविधानमाथि खतरा रहेको बताएका हुन्।
जनकपुरधाममा संवाद केन्द्रद्वारा आयोजित संविधान कार्यान्वयनमा जनप्रतिनिधिको भूमिका विषयक कार्यक्रममा विभिन्न प्रदेशमा गरिएको छलफल र भेलामा स्थानीय नेताहरूको मत बुझ्दा आफ्नै पार्टीका जनप्रतिनिधिसमेत संविधान कार्यान्वयन गर्न नचाहेको सहितका गुनासो सुनिएकाले आफूलाई चिन्ता लागेको उनको भनाइ थियो।
‘अहिलेसम्म प्रदेशमा भएको कार्यक्रममा आएका गुनासो र तर्कका आधारमा संविधानप्रति जनताको वितृष्णा फैलिँदै गएको छ। संविधान कार्यान्वयनका लागि बन्नुपर्ने मुख्य कानुनसमेत बन्न नसक्दा प्रदेश सरकार अधिकारविहीन भएर काम गर्न नसकेपछि निरीहजस्तै हुँदा जनतामा प्रदेश सरकार मात्र नभई संविधान नै उचित नरहेको भ्रम पर्न थालेको छ,’ उनले चिन्ता थियो।
कार्यक्रममा पार्टीका सहमहामन्त्री उमाकान्त चौधरीले संविधान निर्माण र घोषणाको नेतृत्व पार्टीले गरेको र मस्यौदाको संयोजकको जिम्मेवारीसमेत सम्हालेको हैसियतले संविधान बचाउने पहिलो दायित्व सिटौलाको भएकाले त्यसका लागि अगाडि बढ्न आग्रह गरे। कार्यक्रममा मधेससहित देशभरिकै पार्टीका जिल्ला सभापति, सङ्घीय र प्रदेशसभा सदस्य, नेविसङ्घ, महिला सङ्घका जिल्ला तथा प्रदेशका अगुवाको उपस्थिति थियो।
सिटौला नेपालको संविधान २०७२ को मस्यौदा समितिका संयोजक थिए।


