काठमाडौँ- सुन तस्करीको अभियोगमा पक्राउ परेका राहुल महराका ४ थान मोबाइल जफत गरिएको छ। भेप (इलेक्ट्रिक चुरोट)मा राखेर ९ किलोभन्दा बढी सुन तस्करी गरेको आरोपमा पक्राउ परेका उनीबाट जफत ती मोबाइल प्रहरीको फरेन्सिक ल्याबमा पठाइएको छ।
पूर्वसभामुख एवं नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुलले सुन तस्करसँग १ सयभन्दा बढी पटक सम्पर्क गरेका थिए। गत बुधबार केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)को टोलीले राहुललाई नियन्त्रणमा लिएको थियो।
‘राहुलले प्रयोग गर्ने गरेका मोबाइल जफत गरेर हामीले परीक्षणको लागि पठाएका छौँ,’ ब्युरोका अधिकारीले पुष्टि गरे। त्यसको परीक्षणबाट थप विषय आउन सक्ने आशामा ब्युरो छ।
गत पुस १० गते फ्लाइ दुबईबाट चिनियाँ नागरिकले २ वटा सुटकेसमा ७३ वटा प्याकभित्र ७३० वटा भेप ल्याएका थिए। भेपबाट सुन तस्करीको आरोपमा पूर्वसभामुख महरा पनि जोडिएका छन्। तर उनलाई पक्राउ गर्न प्रधानमन्त्रीको ग्रिन सिग्नल प्रहरीले जुटाएको छैन।


