काठमाडौं–रुकुम पश्चिमको चौरजहारी नगरपालिका–६ घर्तीकाँडाका रतन बुढाथोकीका १० वर्षीय छोरा मनोज र ६ वर्षीया छोरी भावनाको आइतबार स्कुलबाट घर फर्किंदा खोलाले बगाएर मृत्यु भएको छ। आइतबार अपराह्न ४ बजे विद्यालयबाट घर फर्किने क्रममा खोलामा अकस्मात बाढी आएपछि दुई दाजुबहिनीलाई खुलाले बगाएको हो।
विद्यालयबाट घर फर्किने क्रममा नाउला खोलामा बाढी आएपछि उनीहरुलाई बगाएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद श्रेष्ठले पुष्टि गरे। दाजुबहिनीको शव फेला परिसकेको उनको भनाइ छ।
आधारभूत विद्यालय घर्तीकाँडामा अध्ययनरत दुई भाइबहिनी बाढी आएका बेला खोला तर्ने क्रममा बगेका हुन्। मनोज कक्षा ३ र भावना कक्षा १ मा अध्ययनरत थिए। रुकुम पश्चिममा आइतबार दिउँसो हावाहुरीसँगै ठूलो पानी परेको थियो।


