काठमाडौँ- नेकपा (एमाले) लुम्बिनी प्रदेशका कार्यसमितिमा एक जना सचिव र लेखा आयोगका उपाध्यक्ष निर्विरोध निर्वाचित भएका छन्। प्रदेश समितिको सचिवमा लक्ष्मण आचार्य र लेखा आयोगको उपाध्य पदका लागि बैकुण्ठ महत निर्विरोध भएका हुन्।
लुम्बिनीका १२ मध्ये ८ जिल्ला कोटाका सदस्य पनि निर्विरोध निर्वाचित भए। प्रदेश समितिको अध्यक्ष, उपाध्यक्ष, उपसचिव तथा चार जिल्ला कोटाका सदस्यहरू चुन्नका लागि निर्वाचन भइरहेको छ। रुपन्देही, दाङ, बाँके र गुल्मी जिल्ला कोटाका पदमा पनि मतदान हुँदैछ।
निर्विरोध हुन नसकेका पदका लागि मतदान जारी छ। बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (बीआईसीसी)मा मतदान भइरहेको हो। बिहान पौने नौ बजेबाट सुरु भएको मतदान साढे ११ बजेसम्म ४० प्रतिशतभन्दा बढी मतदान सकिएको केन्द्रीय निर्वाचन आयुक्त भरत पोखरेलले जानकारी दिए।
दिउँसो १ बजेसम्म मतदानका लागि भित्र पसिसक्नुपर्ने व्यवस्था छ। मतदान सकेपछि आजैबाट गणना सुरु हुनेछ। प्रदेश अधिवेशनका लागि एक हजार चार जना मतदाता रहेका छन्।
प्रदेश कमिटीको अध्यक्षका लागि वर्तमान अध्यक्ष राधाकृष्ण कँडेल र केन्द्रीय सदस्य हरि रिजाल प्रतिस्पर्धामा छन्। दुवै समूह प्यानल बनाएर प्रतिस्पर्धामा उत्रिएका छन्। पदाधिकारी र सदस्यसहित चुनिने २०५ सदस्यीय समितिमा पर्न ३६४ जना प्रतिस्पर्धामा छन्।


