काठमाडौं– नेपाली काङ्ग्रेसका नेता डा शेखर कोइरालाले कर्मचारी भनेको देशको स्थायी सरकार भएको बताएका छन्। नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसको अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा पुस्तक विमोचन कार्यक्रममा उनले कर्मचारी भनेको देशको स्थायी सरकार हो भन्ने कुरा सबैले बुझ्न जरुरी रहेको बताए।
‘कर्मचारीको मनोबल खस्किएरको सुनिन्छ, किन भन्दा १० वर्ष भइसक्यो निजामती सेवा ऐन अझै हामीले ल्याउन सकेको छैनौं,’ उनले भने, ‘कर्मचारी भन्ने वित्तिकै सरकार हो भन्ने कुरा हामीले बुझ्न जरुरी छ। उनीहरू यो देशको स्थायी सरकार हुन् भन्ने कुरा बुझ्न जरुरी छ त्यता हाम्रो ध्यान गएको छैन।’
राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृति, धार्मिक र कूटनीतिक कुनै पनि हिसाबले सही स्थानमा नेपाल नभएको भन्दै उनले नेपालजस्ता वहुभाषिक, वहुजातीय देशमा जातीय द्वन्द्व हुने हो भने देश अगाडि बढ्न नसक्ने जिकीर गरे।
‘राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृति, धार्मिक र कूटनीतिक कुनै पनि हिसाबले देश ठीक स्थानमा अगाडि बढ्न सकेको छै,’ उनको भनाइ थियो, ‘केही समय अगाडि भएको घटना धार्मिक युद्ध हो कि जस्तो लाग्यो तर त्यो धार्मिक युद्ध होइन, त्यसमा जातीय गन्ध मिसिएको थियो।’
यस्तै, उनले देशको सबैभन्दा ठूलो महानगरपालिकाको मेयर र देशको प्रधानमन्त्रीले अराजक किसीमले बोल्न नमिल्ने भन्दै यसरी देश नचल्ने बताए।
नेपाली कांग्रेसकी नेत्री एवं सांसद कमला पन्तले मन्त्री फेरिनासाथ निजामती सचिवहरू फेरिनु राजनीति र कर्मचारीतन्त्रबीच रहीआएको समस्या तत्काल समाधान गर्नुपर्ने बताइन्। कर्मचारीको कामभन्दा खराब राजनीतिको कारणले निजामति कर्मचारी ऐन आउन नसकेको टिप्पणी उनको थियो।
नेत्री पन्तले मन्त्रालयमा सुशासन स्थापना गर्न स्थिर निजामती कर्मचारी आवश्यक हुने बताउँदै मन्त्री फेरिनासाथ भकुन्डो जसरी गरिने सचिव सरुवालाई रोक्नुपर्ने धारणा राखिन्।
‘मन्त्रालयमा सधैं चर्चा हुने सुशासन भएन भन्ने विषयमा, सुशासन किन भएन भन्दाखेरी मन्त्रालयमा सचिवहरू महिनैपिच्छे जति मन्त्री फेरिए उति भकुण्डो हुन्छन्। एउटा मन्त्रालयको कुरा एउटा सचिवले बुझिसकेको हुन्छ, अर्कोमा पठाइदिन्छन्। कुरा बुझ्नै समय लाग्छ। यो समस्या राजनीतिको हो कि निजामती हो? यो फाइनल हुनुपर्यो।’
मन्त्रालयमा सुशासन स्थापित गर्न सचिव तथा कर्मचारीले सहजरुपमा काम गर्ने वातावरण बन्नुपर्नेमा उनले जोड दिइन्।
‘स्थायी सरकार भनेको निजामती कर्मचारी हो, अनि निजामती कर्मचारी खराब हो त ? राजनीति खराब कि निजामती ? हामीले यसलाई अध्ययन गर्नुपर्छ भनेर बोलेको थिए मैले। हाम्रा होनहार सचिव हाम्रै पार्टीको मन्त्रीबाट सरुवा हुनुभयो,’ पन्तले भनिन्।
नेपाली काङ्ग्रेसका सांसद तथा केन्द्रीय सदस्य रामहरि खतिवडाले निजामती ऐन ‘सिन्डिकेट’ का आधारमा नभइ कर्मचारीको पक्षमा हुनुपर्ने बताएका छन्।
नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसको अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा पुस्तक विमोचन कार्यक्रममा उनले धेरै वर्षपछि निजामती ऐन आउन लागेको भन्दै सबैजना अटाउने र सबैलाई समेट्ने गरी ऐन आउनुपर्ने बताए।
‘धेरै वर्ष पछाडि निजामती ऐन आउँदैछ, तर यो सिन्डिकेटका आधारमा आउनु हुन्न कर्मचारीको पक्षमा हुनुपर्छ, हामी तपाईंहरूको पक्षमा लड्छौं भनेर हामी प्रतिबद्धता जनाउन चाहन्छु। कानून बनेका दिनदेखि लागू हुनेगरी ल्याउनु पर्छ। कर्मचारी ऐन सबैजना अटाउने र सबैलाई समेट्ने खालको हुनुपर्छ। त्यसमा राज्य व्यवस्था समितिको सभापतिको हैसियतमा सबैसँग समन्वय गरेर काम गर्ने छु।’
नेता खतिवडाले पार्टीमा एकले अर्कोलाई गाली गरेर पार्टी दरो नबन्ने भन्दै बाहिर पार्टीका नेताको आलोचना नगर्ने हो भने आधा समस्या समाधान हुने दाबी गरे। ‘अब सरकारमा सुशासनका लागि ल्यारक्याल लामा जस्तालाई नियुक्ति गरेर होइन, अन्य कामबाट सुशासनको अनुभूति दिन सक्नुपर्छ। पार्टीमा एकले अर्कालाई गाली गरेर पार्टी दह्रो बन्दैन। आन्तरिक रुपमा पार्टीमा मनमुटावहरू छन् भने पार्टीभित्र नै त्यसको समाधान गर्ने गरौँ तर जनताको बीचमा जाँदा एक भएर जाने हो भने सबै समस्या ठीक हुन्छ।’


