काठमाडौं– नेपाल–भारतको सीमा जोडिने सर्लाहीको मुख्य नाका मलंगवा नगरपालिका–८ मा एक सय आठ फिट उचाइमा राष्ट्रिय झन्डा फहराइएको छ। मधेस प्रदेशका अर्थमन्त्री सञ्जयकुमार यादवले मलंगवाको सोनवरसा सीमानाकामा प्रदेश सरकारको सहयोगमा निर्माण गरिएको पार्कमा राखिएको राष्ट्रिय झन्डा फहराएका हुन्।
सो अवसरमा अर्थमन्त्री यादव र मलंगवा नगरपालिकाका नगरप्रमुख नागेन्द्रप्रसाद यादवले संयुक्त रुपमा पार्कको उद्घाटन गरे। कार्यक्रममा प्रदेश अर्थमन्त्री यादवले मधेस प्रदेशमा निर्माण गरिएको हजारौं योजनामध्ये सर्लाहीको मुख्य सीमा क्षेत्रमा राष्ट्रिय झन्डा राख्नलाई निर्माण गरिएको योजना मधेस प्रदेशकै गौरवका रुपमा रहेको बताए।
राष्ट्रिय झन्डाले सम्पूर्ण नेपालीको मानसम्मान एवं स्वाभिमानलाई प्रतिविम्बित गर्ने उनले विश्वास व्यक्त गरे। ‘यो देशमा पटकपटक मधेसीले राष्ट्रियताको परिचय दिनुपर्छ’, अर्थमन्त्री यादवले भने, ‘कुनै पनि राष्ट्रको राष्ट्रियता झन्डामा मात्र निहित हुँदैन, राष्ट्रियता हरेक नागरिकको हृदयमा हुन्छ।’
देशमा शासन गर्नेले अहिले पनि राष्ट्रियता काठमाडौंमा खोज्ने गरेको टिप्पणी गर्दै उहाँले भने, ‘राष्ट्रियता देखिनुछ भने यो देशको १३ हजार ८५ किलोमिटर लामो नेपाल–भारत सीमामा दिनरात आफ्नो भूमिलाई ज्यानभन्दा प्यारो मानेर संरक्षण एवं सुरक्षा गरेर बसेका मधेसी समुदायलाई मेचीदेखि महाकालीसम्मको बोर्डरमा आएर हेर्दा हुन्छ।’
अर्थमन्त्री यादवले आउने दिनमा मलंगवा नगरपालिकाका साथै सर्लाहीमा प्रदेश सरकारको लगानीमा विभिन्न विकास निर्माणको काम गर्नेसमेत बताए। मधेस प्रदेश सरकारको विशेष अनुदानबाट प्राप्त ३० लाखको लागतमा मलंवा नगरको गौरवका रुपमा पार्क निर्माण गरी राष्ट्रिय झन्डा राखिएको प्रमुख प्रशासकीय अधिकृत गेहनाथ गौतमले जानकारी दिए।
कार्यक्रममा जनप्रतिनिधि, पार्टी प्रतिनिधि, नागरिक, नेपाल–भारत दुवै देशका सुरक्षाकर्मीका स्थानीय प्रमुखलगायत विभिन्न व्यक्ति सहभागी थिए।–रासस


