काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भदौ ३० गते संयुक्त राज्य अमेरिका प्रस्थान गर्ने भएका छन्। बिहीबार परराष्ट्रमन्त्री एनपी साउदले पत्रकार सम्मेलन आयोजना गरी प्रधानमन्त्रीको अमेरिका भ्रमणका विषयमा जानकारी गराएका हुन्। प्रधानमन्त्री असोज ४ गतेसम्म अमेरिकामा रहनेछन्।
महासभा अन्तर्गत हाई लेभल सेगमेन्ट सेप्टेम्बर १८ देखि २६ सम्म चल्नेछ। उक्त सेगमेन्टमा प्रधानमन्त्री सहभागी हुने कार्यक्रम छ। दिगो विकससम्बन्धी उच्चस्तरीय छलफलमा जलवायु परिवर्तन, विश्वव्यापी महामारीका कारण सिर्जित स्वास्थ्य चुनौती सामना गर्नेलगायतका सवालमा छलफल हुने मन्त्री साउदले जानकारी दिए।
भ्रमणमा माननीय परराष्ट्रमन्त्री नारायणप्रकाश साउदज्यूसँगै सम्माननीय प्रधानमन्त्रीज्यूका मुख्य राजनीतिक सल्लाहकार, राष्ट्रिय सुरक्षा सल्लाहकार, मुख्य सचिव, परराष्ट्र सचिवलगायत नेपाल सरकारका उच्चपदस्थ पदाधिकारीहरु सहितको उक्त प्रतिनिधिमण्डलमा संयुक्त राज्य अमेरिकाका लागि नेपालका राजदूत, संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी प्रतिनिधि, न्यूयोर्कस्थित महावाणिज्यदूतावासका पदाधिकारीहरु लगायत अन्य सदस्यहरुका साथै नेपालबाट मिडिया प्रतिनिधिहरुसमेत सहभागी हुनेछन्। प्रधानमन्त्रीले असोज ४ गते महासभामा सम्बोधन गर्ने कार्यक्रम छ।
महासभाकै क्रममा प्रधानमन्त्रीले साइडलाइनमा विभिन्न देशका राष्ट्रप्रमुख रसरकार प्रमुख तथा प्रतिनिधिमण्डलका नेताहरुसँग भेटवार्ताको कार्यक्रम तय गरिएको छ। सम्माननीय प्रधानमन्त्रीज्यू संयुक्त राज्य अमेरिकाका महामहिम राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने रात्रीभोजमा सहभागी हुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।
अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुनका लागि प्रयासरत नेपालले यसपटक उक्त समूहको अध्यक्षतासमेत गर्नेछ। यसैगरी नेपालले साविक बमोजिम वार्षिक रुपमा आयोजना हुँदै आएका जी-७७ लगायतका बैठकमा समेत भाग लिनेछ।
संयुक्त राष्ट्रसंघको ७८औँ महासभाको उच्चस्तरीय सत्रमा सहभागिता पश्चात मिति असोज ५ गते सम्माननीय प्रधानमन्त्री चीन प्रस्थान गर्ने कार्यक्रम तय भएको छ।


