काठमाडौं– चार दल सम्मिलित समाजवादी मोर्चाले आज हेटौंडामा सन्देशसभा आयोजना गर्दै छ। ७ वटै प्रदेशमा सन्देशसभा गर्ने मोर्चाको निर्णयअनुसार आज हेटौंडामा सभा गर्न लागिएको नेकपा एसकी बागमती प्रदेश अध्यक्ष सावित्री भुसालले जानकारी दिइन्।
प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा मोर्चाले सन्देशसभा आयोजना गर्ने समेत भुसालले बताइन्।
सन्देशसभा हेटौंडा–४ स्थित रोयल पार्टी प्यालेसमा दिउँसो २ बजे सुरु हुनेछ। उनका अनुसार सन्देशसभामा प्रधानमन्त्री प्रचण्डसहित नेकपाका अध्यक्ष नेत्रविक्रम चन्द ‘विप्लव’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सम्बोधन गर्नेछन्।
सन्देशसभाको संयोजन तथा आयोजना एकीकृत समाजवादीले गरेको र सभाको सम्पूर्ण तयारी पूरा भएको उनको भनाइ छ।


