काठमाडौँ- इजरायलले पूर्वप्रधानमन्त्री बीपी कोइरालाको दुर्लभ भाषण नेपाललाई उपहार प्रदान गरेको छ। इजरायली राजदूत हनन गोदेर गोल्डबर्गरले मंगलबार राष्ट्रपति भवन शीतलनिवासमा बीपीको सो भाषण राष्ट्रपति रामचन्द्र पौडेललाई उपहारस्वरुप हस्तान्तरण गरेका हुन्।
तत्कालीन प्रधानमन्त्री बीपी कोइरालाको कार्यकालमा सन् १९६० मा इजरायलसँग दौत्य सम्बन्ध स्थापना भएको थियो। सन् १९४८ मा राज्यका रुपमा स्थापित इजरायलसँग बीपी कोइरालाले सिंगो विश्वले स्वतन्त्र अस्तित्व स्वीकार नगरिसकेको अवस्थामा स्वतन्त्र राष्ट्र स्वीकार गर्दै दौत्य सम्बन्ध स्थापना गरेका थिए।
दौत्य सम्बन्ध कायम भएपछि सन् १९६० को १५ अगष्टमा इन्टरनेसनल कन्फ्रेन्स अन साइन्स इन द एडभान्समेन्ट अफ न्यू स्टेट्सको प्रमुख अतिथिको हैसियतमा कार्यक्रम उद्घाटन गर्दै बीपी कोइरालाले गरेको भाषण राष्ट्रपति पौडेललाई राजदूत गोदेरले उपहार स्वरुप हस्तान्तरण गरेका हुन्।
राजदूत गोदेरले सो भाषण धेरै मेहनतसाथ खोजी गरेर आफूले फेला पारेको र बीपी कोइरालाकै अनुयायी नेपालको राष्ट्रप्रमुख भएका बेला हस्तान्तरण गर्न पाउँंदा खुशी लागेको बताएका थिए। राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार राष्ट्रपति पौडेलले बीपीको यस्तो ऐतिहासिक दस्तावेज उपहार उपलब्ध गराएकोमा हर्षित हुँदै धन्यवाद दिएका थिए।
‘फरक खालको स्थिति भएको हुँदा तेस्रो विश्वका देशहरूले आर्थिक विकासका लागि प्रजातन्त्रलाई स्वीकार गरेका छैनन्। त्यसैकारणले आर्थिक विकास प्रजातान्त्रिक प्रणालीबाट हुन्छ कि तानाशाही प्रणालीबाट हुन्छ भन्ने बहस आज जारी छ,’ बीपीको सो भाषण उदृत गर्दै पोखरेलले भने, ‘सही प्रतिपक्षको अभाव र मनोवैज्ञानिक पूर्णता नहुँदा स्वतन्त्रतापछि पनि तानाशाहीतन्त्र प्रख्यात भएको छ। सुस्तगतिमा हुने प्रगतिले संर्घष गरिरहेको प्रजातान्त्रिक प्रणालीले तानाशाहीतन्त्रलाई अवसर दिएर जनताको विकासप्रतिको कल्पना आकर्षित गर्दछ।’
प्रजातन्त्र राजनीतिक प्रणालीको रुपमा वा जीवन पद्दति प्रयोगको रुपमा यी देशहरूमा परिक्षणको रुपमा रहेको पनि बीपीले सो सम्बोधनमा उल्लेख गरेका छन्। ‘नेपाल एसिया र अफ्रिकाका मुलुकहरू जस्तै होइन जसले साम्राज्यवाद र उपनिवेशवादको शिकार भए। उनीहरूले आफ्नो आस्मिता मात्र गुमाएनन् अपितु बाह्य शक्तिबाट शोषित पिडित भए,’ सो भाषण उदृत गर्दै पोखरेलले भने, ‘नेपाललगायत अफ्रिकी तथा एशियाका नयाँ प्रजातन्त्र, सम्प्रभुता र स्वतन्त्रता प्राप्त राष्ट्रहरूले नयाँ चुनौतीहरू सामाना गरिरहनुपरिरहेको छ। ती चुनौतीहरूमध्ये गरिबी सबैभन्दा महत्वपूर्ण हो। यदि भरखरै प्रजातन्त्रिक व्यवस्था अँंगालेका राष्ट्रहरूले गरिबीको समस्या समयमा नै हल गर्न सकेनन् भने भरखरै प्राप्त स्वतन्त्रता र सम्प्रभुताको कुनै अर्थ हुँदैन नै। अर्कोतर्फ तानाशही र साम्यवादले गरिबीलाई आफ्नो शीर उठाउने अवसरका रुपमा लिनेछन्।’
भाषणमा बीपीले त्यही कारण विकसित प्रजातान्त्रिक समाजवादी राष्ट्रहरूले एशिया र अफ्रिकाका भरखरै प्रजातान्त्रिक व्यवस्था अँंगालेका ती राष्ट्रहरूलाई सम्यवाद वा तानाशाहीको विकल्पबाट जोगाउन सक्नुपर्ने पनि उल्लेख गरेका छन्।
राजदूत गोदेरसँगको भेटमा राष्ट्रपतिले इजरायल सरकारले नेपाललाई रोजगारी तथा कृषि तथा सहकारी क्षेत्रमा गरेको सहयोग प्रदान गरेकोमा खुशी व्यक्त गरेका थिए। उनले दुई देशबीचको सम्बन्ध र आपसी सहयोग तथा सहकार्य निरन्तर अगाडि बढ्नेमा विश्वास व्यक्त गरेका थिए।


