काठमाडौं– नेपालमा पत्रकारिता सुरुआत गर्ने व्यक्तित्व एवं राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १५८औँ जन्मजयन्ती आज नेपालभर विभिन्न साहित्यिक कार्यक्रम आयोजना गरी मनाइँदै छ। १९२३ भाद्र कृष्ण कुशेऔंसीका दिन जन्मेर १९५३ भाद्र कृष्ण कुशेऔंसीकै दिन ३० वर्षको उमेरमा परलोक भएका मोतीराम भट्टले नेपाली साहित्यको श्रीवृद्धिका लागि ठूलो योगदान दिएका थिए।
नेपाली साहित्यको शृंगार रसलाई योगदान दिएका युवाकवि मोतीराम भट्टले आदिकवि भानुभक्तको जीवनी पहिलो पटक प्रकाशनमा ल्याउनाका साथै नेपालमा छापाखानासमेत भित्र्याएका थिए।
यही छापाखानामार्फत नेपालमा पत्रकारिताको सुरुआत भएको हो। दिवसका अवसरमा आज नेपाली शिक्षा परिषद्लगायत विभिन्न संस्थाले कार्यक्रम आयोजना गर्दै छन्।


