२०८३ कार्तिक १४ गते शुक्रबार

सुन तस्करीको अनुसन्धानमा शंकैशंका : पूर्वउपराष्ट्रपतिका छोराले पाए ‘क्लिनचिट’, महरालाई छैन सोधीखोजी

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ २९
gold_investigation

काठमाडौँ- इलेक्ट्रोनिक सिगरेट (भेप)मा लुकाएर ल्याइएको ९ किलो र ६० किलो सुन तस्करी प्रकरणमा हङकङका दाओजिङ वाङ मुख्य नाइके भएको पत्ता लागेपछि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले एक जना प्रहरी नायब उपरीक्षक (डिएसपी)लाई भारत पठायो।

वाङ नेपालमा मात्रै नभएर भारतमा समेत सुन तस्करीले चर्चित छन्।

सन् २०२१ मा वाङलाई भारतको राजस्व अनुसन्धान विभागले ८८.५३५ किलोग्राम सुनसहित पक्राउ गरेको थियो। अपरेसन ‘मोल्टेन मेटल’ चलाएर विभागले वाङलाई पक्राउ गरेको थियो।

सीआईबीले भारत पठाएका डीएसपी धर्मराज भण्डारीले केही समय त्यसबारे बुझे। तर, वाङ कहाँ छन् पत्ता लागेन।

अहिलेसम्मको अनुसन्धानको निचोड हो – वाङ अन्तरदेशीय रूपमा सुन तस्करी गर्छन्। ‘पछिल्लो समय ९ किलो र ६० किलो सुनमा उनी मुख्य नाइके हुन्,’ सीआईबीका एक अनुसन्धान अधिकृतले भने, ‘उनलाई पक्राउ गर्न सहयोगका लागि इन्टरपोलमा चिठी लेखिएको छ।’

हङकङबाट सुन पठाउने वाङ मुख्य नाइके हुन् भने ९ र ६० किलो सुन नेपालमा व्यवस्थापन गर्ने भने दावा छिरिङ हुन्। रोल्पाकी कमला रोकामगरका श्रीमान् दावाका व्यापारिक साझेदार पूर्वराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन हुन्। वाङसँग पूर्वसभामुख तथा माओवादी नेता कृष्णबहादुर महरा र उनका छोरा राहुल महराको सिधा सम्पर्क रहेको अनुसन्धानले नै देखाइसकेको छ।

९ किलो सुनको अनुसन्धान सिलसिलामा राहुल पक्राउ परे पनि उनका बाबुबारे सीआईबीले कुनै सोधिखोजी गरेको छैन। दीपेशलाई बयान लिए पनि प्रतिवादी बनाउन सीआईबीले इन्कार गरेको छ।

सीआईबीले भारत पठाएका डीएसपी धर्मराज भण्डारीले केही समय त्यसबारे बुझे। तर, वाङ कहाँ छन् पत्ता लागेन।

वाङको दावासँग लामो सम्बन्ध रहेको अनुसन्धानले देखाएको छ। दावाले काभ्रे जिल्लाबाट २०७८ साल असोज ६ गते नेपाली नागरिकता नै लिएका छन्।

गत साउन ३ गते राति राजस्व अनुसन्धान विभागले ६० किलो ७१६ ग्राम सुन बरामद गरेको थियो। बरामद गरेको १८ दिनपछि तस्करीको अनुसन्धान गर्न (सीआईबी)लाई जिम्मा लगाएको थियो।

सीआईबी प्रमुख किरण वज्राचार्य।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उच्चस्तरीय छानबिन आयोगको माग गरी संघीय प्रतिनिधिसभा अवरोध गरिरहेका बेला सरकारले अनुसन्धानको जिम्मा सीआईबीलाई सुम्पेको थियो।

असोज ५ गतेसम्ममा जाँचबुझ आयोग गठन गर्ने सत्तापक्ष-प्रतिपक्षबीच सहमति भएपछि प्रतिनिधिसभाको अवरोध हट्यो।

जाँचबुझ आयोग गठन सम्बन्धी पहिलो बुँदामा साउन ३ गते बरामद भएको ६० किलो सुनको अनुसन्धान सीआईबीले गरी अभियोजन गर्ने उल्लेख छ। दोस्रो बुँदामा ‘इलेक्ट्रिक सिगरेट ‘भेप’ र पटक-पटक बरामद भएको सुनको अनुसन्धानबारे अध्ययन गरी सुझावसहितको प्रतिवेदन जाँचबुझ आयोगले दिने भनिएको छ।

अहिलेको प्रारम्भिक अनुसन्धानबाट सीआईबीले २९ जनालाई प्रतिवादी बनाउने राय जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंलाई दिएको छ। सुन प्रकरणमा पक्राउ परेका तथा बयानमा बोलाइएको अन्य सात जनालाई प्रतिवादी बनाउन नपर्ने राय उसले दिएको छ।

सीआईबीले विगत ११ महिनायता सुन तस्करी गर्न खडा गरिएका सात वटा कम्पनीमाथि अनुसन्धान थालेको थियो। पहिलो चरणमा सातमध्ये दुई कम्पनीको मात्रै अनुसन्धान सकिएको सीआईबीका प्रहरी उपरीक्षक सञ्जयसिंह थापा बताउँछन्।

ती कम्पनी रेडी ट्रेड प्रालि र सरिता सप्लायर्स हुन्। सरिता सप्लायर्सबाट हालसम्म कुनै पनि सामग्री आयात नभएको देखिएको थापाको भनाइ छ।

सुन तस्करीका लागि खडा गरिएको रेडी ट्रेडबाट एक वर्षको अवधिमा ३६२ किलो सुन तस्करी आएको सीआईबीको प्रतिवेदनमा उल्लेख छ। प्रतिवादी बनाइएकालाई उक्त परिमाण बराबरको सुनको हुन आउने मूल्य तीन अर्ब ५० करोड दुई लाख १६ हजार ५५२ रुपैयाँ बिगो माग गरिएको छ।

अनुसन्धान गर्न बाँकी रहेका कम्पनी हुन् :

• बाँसबारीस्थित लेखनाथ कार्की सञ्चालक रहेको छुङगाक इलेक्ट्रिक सप्लायर्स,

• चाबहिल (गोपीकृष्ण पारी) स्थित रामकुमार भुजेल सञ्चालक रहेको भुजेल इलेक्ट्रिक सप्लायर्स,

• सामाखुसीस्थित कुमारबहादुर भुजेल सञ्चालक रहेको ह्वाडा इलेक्ट्रिक सप्लायर्स,

• बाँसबारीस्थित रामबहादुर भुजेल सञ्चालक रहेको पवाटी इलेक्ट्रिक सप्लायर्स,

• लाजिम्पाट र हात्तीगौंडा मा रहेका विकेन्द्र भुजेल सञ्चालक रहेको दोलखा इलेक्ट्रिक सप्लायर्स।

एउटै कम्पनीका नाममा यति ठूलो परिमाणको सुन अवैध पैठारीका मुख्य व्यवस्थापक बेल्जियन नागरिक दावा छिरिङ रहेको प्रहरी अनुसन्धानको निष्कर्ष छ।

बरामद भएको सुन गाल्ने मेसिन।

दावाको कारोबार सम्हालेकी उनकी श्रीमती अमला रोका मगर फरार छिन्। दावा र अमला दुवैसँग सम्पर्कमा रहेका पूर्वउपराष्ट्रपति नन्दबहादुरका छोरा दीपेश भने प्रहरीले प्रतिवादी नबनाउन मानेन।

सुन तस्करीका नाइकेहरूसँग सम्पर्कमा देखिएका पुनलाई प्रतिवादी नबनाउनुको कारण प्रमाण नपुगेर भएको दाबी सीआईबीको छ।

सहिद परिवारकी भनिएकी अमला रोकाका नाममा सुन उत्खनन् तथा प्रशोधन गर्ने भियना मल्टिप्रपोज प्रालिदेखि भियना क्यासिनोसम्म लगानी रहेको देखिएको छ।

‘सात वटा कम्पनीमध्ये दुई वटाको अनुसन्धान सकिँदा आपराधिक कार्यमा उहाँको संलग्नता स्थापित हुन सकेन,’ सीआईबीका एक अधिकृतले भने, ‘बाँकी पाँच वटा कम्पनीको अनुसन्धान हुनै बाँकी छ। ती कम्पनीको अनुसन्धान हुँदा के आउँछ अहिले यसै भन्न सकिएन।’

अमलाको र दावाको राजनीतिक कनेक्सन र उठबस माओवादी नेता वर्षमान पुनसँग छ। पुनका भाइ प्रनेशसँग दुवैको व्यापारिक साझेदारी देखिएको छ। तर, प्रनेशलाई प्रहरीले खोजीसम्म गरेको छैन।

प्रधानमन्त्री-गृहमन्त्री माओवादी नेता भएकाले सुन तस्करीमा संलग्न माओवादी उच्च तहका नेता र दीपेशलाई प्रतिवादी बनाउन सीआईबी डरायो भनी शंका पनि उठिरहेको छ।

सीआईबीले उनको मोबाइल सम्पर्कबाहेक केही पनि खोजेको छैन। बयानमा दीपेशले दावासँग आफ्नो व्यापारिक साझेदारी भने नरहेको दाबी गरेका थिए। दावा र उनकी श्रीमतीको काठमाडौंमा भियना होटल छ।

सुन तस्करहरूले ब्रेक सुमा प्याक गरेर ल्याएको सुन पगाल्न टोखा र लाजिम्पाटको फ्याक्ट्री प्रयोग गर्ने गरेका थिए। त्यहाँ सुन गाल्ने १० वटा मेसिन थिए।

यो प्रकरणमा मिस्टर लिन, मिस ली र अन्य तीन जनालाई सीआईबीले ‘टप लेभल’मा राखेको छ। उनीहरूले हङकङबाट सुन पठाउने गरेको खुलेको छ। उनीहरू नेपालमा भन्सारबाट सुन पास गराउने, गोदामसम्म पुर्‍याउने, गाल्ने, बजार खोज्ने, व्यवस्थापन गर्नका लागि टोली नै बनाएका थिए।

तस्करीको सुन गाल्दै नेपाल राष्ट्र बैंक।

हङकङबाट ‘लिन’ भन्ने चिनियाँ नागरिकले क्यारी अन ग्लोबल नामक कम्पनमीमार्फत ब्रेक सुलगायत विभिन्न इलेक्ट्रिक सामग्रीमा राखेर सुन पठाउने गरेको खुलेको छ। पठाएको समानको जानकारी तिब्बती मूलका भारतीय नागरिक थुप्टेन छिरिङलाई ह्वाट्सएपमार्फत पुग्ने गर्दथ्यो।

थुप्तेन छिरिङले उक्त सूचना बिचौलिया हर्कराज राईलाई फरवार्ड गर्ने गरेका थिए। राईले उक्त सामान भन्सारबाट निकाल्ने गर्थे। भन्सार जाँच पास भएर निस्किने क्रममा त्यहाँका कर्मचारीहरूले राईलाई सघाउने गरेको खुलेको छ।

सहिद परिवारकी भनिएकी अमला रोकाका नाममा सुन उत्खनन् तथा प्रशोधन गर्ने भियना मल्टिप्रपोज प्रालिदेखि भियना क्यासिनोसम्म लगानी रहेको देखिएको छ।

खानी तथा भूगर्भ विभागले सुन उत्खननका लागि उक्त २०७७ सालमा यो कम्पनीलाई अनुमति दिएको देखिएको छ। रोल्पाका केही स्थानमा सुनको खानी रहेको भन्दै कम्पनीलाई अनुमति दिइएको थियो। तर, हालसम्म त्यहाँ सुन रहेको पत्ता लागेको छैन।

भियना मल्टी-प्रपोज ग्रुपमा अमलाको २ लाख २५ हजार कित्ता सेयर छ। भियनामा वर्षमान पुनका भाइ प्रनेश पुन व्यापारिक साझेदार छन्।

सुन प्रकरणको केन्द्र ठमेलको भियन होटलबाट अमलाका श्रीमान दावा पक्राउ परेका थिए। तर, अमला भने फरार रहेको सीआईबीको भनाइ छ।

पूर्वडिआइजी हेमन्त मल्ल ठकुरी सुनमा संगठित समूह र अन्तरदेशीय जालो रहेकाले अनुसन्धान निकै लामो हुने बताउँछन्। अनुसन्धानमा प्रमाणिक तथ्यहरू नखुल्दा पनि समस्या हुन्छ।

‘अहिले कतिपयलाई सीआईबीले जोगाउन खोज्यो भन्ने कुरा आइरहेका छन्, कहिलेकाहीँ अनुसन्धानको दायराभन्दा बाहिरका कुरा पनि हुन्छन्,’ उनले भने, ‘उच्चस्तरीय छानबिन आयोग गठन गर्ने कुरा छ, त्यहाँबाट पनि अनुसन्धान हुन्छ, तर गठन हुने हो कि नहुने हो, त्यो हेर्न बाँकी छ।’

सुन तस्करीमा विदेशी नागरिकहरू संलग्न भएकाले सम्बन्धित देशले कसरी हेर्छ भन्ने कुरा पनि महत्वपूर्ण हुने उनले बताए।

प्रकाशित: २०८० भदौ २९ गते शुक्रबार ०४:३०
प्रतिक्रिया

थप समाचार

कच्चा तेलको मूल्य बढेर ब्यारेलको ११७ डलरमाथि, महँगी बढ्ने जोखिम

काठमाडौँः अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ११७ डलर माथि पुगेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ब्यारेलको ११७.३ डलरमा कारोबार भएको आयल प्राइस डटकमले जनाएको छ। पश्चिम...

आईपीओ निष्कासन मागेका ११७ कम्पनीको वर्गीकरण सकियो, स्वीकृति कहिले?

कात्तिक ११ गतेसम्मको विवरणअनुसार ती कम्पनीले ५१ करोड ९ लाख ८१ हजार ९४६ कित्ता सेयर निष्कासन गर्न अनुमति मागेका छन्।

आर्या फार्मास्युटिकल्स र नेपाल प्रिमियर लिगबीच तीनवर्षीय सहकार्य

काठमाडौँः आर्या फार्मास्युटिकल्सले नेपाल क्रिकेट संघ (क्यान) र नेपाल प्रिमियर लिग ९एनपीएल० सँग तीनवर्षीय सहकार्य गर्ने भएको छ। कम्पनीले आफ्नो स्थापनाको ३०औँ वर्षका अवसरमा एनपीएलसँग स्वास्थ्य...

वैदेशिक लगानी प्रतिबद्धता ५४ प्रतिशत घट्यो, १६ अर्ब २३ करोड मात्र

काठमाडौँः चालू आर्थिक वर्ष २०८३/०८४ को पहिलो तीन महिनामा नेपालमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता ५४ प्रतिशत घटेको छ। उद्योग विभागका अनुसार साउनदेखि असोजसम्म १६ अर्ब २३ करोड रुपैयाँ...

फूल व्यवसाय बढ्दो, वार्षिक ४ अर्बको कारोबार

काठमाडौं। नेपालमा पुष्प तथा पुष्पजन्य वस्तुको वार्षिक कारोबार आर्थिक वर्ष २०८०/०८१ मा १६.६१ प्रतिशत वृद्धि भई ३ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ। फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) का अध्यक्ष...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना