काठमाडौंको तीनकुनेमा भएको चार जनाको सामूहिक हत्याको अनुसन्धान गर्न समिति गठन गरिएको छ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एआइजी दीपक थापाले शनिबार पाँच सदस्यीय समिति गठन गरेका हुन्।
समितिको संयोजक काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौर तोकिएका छन्।
यस्तै, सदस्यमा जिल्ला प्रहरी परिसरका डिएसपी हरि खतिवडा, काठमाडौं उपत्यका प्रहरी कार्यालयका डिएसपी सुवास खड्का, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयकी डिएसपी सुरक्षा केसी र नयाँ बानेश्वर वृत्तका इन्स्पेक्टर वीरेन्द्र केसी रहेका छन्।
‘उनीहरूलाई घटनाबारे अनुसन्धानका विविध विधि र प्रविधिलगायतको अधिकतम् प्रयोग गरी यथाशीघ्र प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ,’ एआइजी थापाले भने।
शुक्रबार राति काठमाडौं-३२ तीनकुनेको दिव्य काठ मिलभित्रको टहरोमा चार जनाको धारिलो हतियार प्रहार गरी हत्या गरिएको थियो।
हत्यामा शंकास्पद रहेको आरोपमा प्रहरीले धनकुटा घर भई तीनकुने बस्ने २८ वर्षीय दीपेन्द्र राईलाई पक्राउ गरेको छ। प्रारम्भिक अनुसन्धानमा उनी त्यहाँ एक-डेढ वर्षदेखि आउने-जाने गरेको देखिएको एसएसपी राठौरले बताए।
राई नै हत्यापछि ‘खबर गर्न’ भन्दै ट्याक्सी चढेर प्रहरी वृत्त बानेश्वर पुगेका थिए। उनलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।
शुक्रबार राति दोलखा घर भई सोही काठ मिलमा गेटपालेको काम गर्ने ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती अम्बिका भुजेल, उनकी आमा ७० वर्षीया शुभद्रा भुजेल भुजेल र मोरङ बेलबारी घर भएका १९ वर्षीय नवीन राईको शुक्रबार राति हत्या भएको थियो।
उक्त मिल दोलखा कालिञ्चोक गाउँपालिका-८ घर भई गौशाला बस्ने बालकृष्ण शिवाकोटीले सञ्चालन गरिरहेका थिए।
हत्या भएकामध्ये ५५ वर्षीय कुमार त्यो काठमिलको गेटपालको रूपमा काम गर्थे। काठ मिलभित्र काठले बनाएको एक तले टहरोमा चारै जनाको हत्या भएको थियो।



