काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी सञ्चालन एकलौटी नगर्न र विधान विपरित नहिँड्न सभापति शेरबहादुर देउवालाई चेतावनी दिएका छन्।
उपसभापति धनराज गुरुङ र सहमहामन्त्री जीवन परियारसहित बुधबार देउवा निवास धुम्बराही पुगेका कोइरालाले सभापति नसच्चिने हो भने कुनै प्रकारको सहकार्य नहुने चेतावनी दिएका हुन्।
छलफलका क्रममा कोइरालाले कोशी प्रदेशमा पार्टीले गलत नीति लिएका कारण कांग्रेसको शिर झुकेको बताएका थिए।
‘कोशीमा दुई पटक असंवैधानिक अभ्यास गर्दा कांग्रेसको शाख गिरेको छ। अरु प्रदेशमा पनि भागवण्डाका लागि मन्त्रालय फुटाउन थालिएको छ। यस्तो विषय हामीलाई मान्य छैन,’ कोइरालाले भने, ‘तपाईलाई सच्चिनका लागि अन्तिम अवसर छ। अब पनि सच्चिनुभएन भने तपाईँसँग संवाद पनि हुँदैन सहकार्य पनि हुँदैन।’
शेखरले देउवालाई पार्टीभित्र न्यायोचित व्यवस्थापन नभएको, विधान मिचेर भातृसंस्थाको गठन गरिएको, एकलौटी ढंगले केन्द्रीय सदस्य मनोनित गरेको भन्दै आपत्ति जनाएका थिए।
‘देशको राजनीतिक, आर्थिक र कुटनीति विग्रिएको छ। केही छलफल छैन। कांग्रेस सरकारमा भएको नभएको पनि आभास भएको छैन। यसअर्थ तपाईँ सच्चिनुभएन भएन भने अब संवाद हुँदैन,’ कोइरालाले भनेका थिए। जवाफमा देउवाले भनेका थिए, ‘हैन हैन म मिलाउँछु, गर्छु त यार!’
मंगलबार देखि सुरु हुने केन्द्रीय समिति बैठकको पूर्वसन्ध्यामा कोइरालाले देउवालाई दिएको चेतावनीलाई अर्थपूर्णरुपमा हेरिएको छ। सोमबार मात्रै संस्थापन इतर समूहको बैठक बसेको थियो।


