काठमाडौँ- नेपाली कांग्रेसका तीन जना कोइराला नेताहरूले आगामी महाधिवेशनमा एकैठाउँ उभिने बताएका छन्। गत महाधिवेशनमा तीन कित्तामा उभिएका डा शेखर कोइराला, सुजाता कोइराला र शशांक कोइरालाले आगामी महाधिवेशनमा एकैठाउँमा हुने बताएका हुन्।
नेपाली कांग्रेसले आयोजना गरेको बिपी साहित्य महोत्सवमा ‘परिवारले बुझेका बीपी’ सत्रमा वक्ताका रुपमा एकै मञ्चमा बसेका उनीहरूले यस्तो बताएका हुन्। सत्रको अन्तिमतिर कोइराला परिवारका तीन नेताको राजनीति र एकताका विषयमा बहस उठ्यो।
गत महाधिवेशनमा शेखर सभापति पदमा उठे पनि शेरबहादुर देउवासँग पराजित भए। सुजाता प्रकाशमान सिंह प्यानलबाट उपसभापति उठे पनि पराजित भइन्। शशांकले शेखरलाई सहयोग गरेनन्, न त सुजाताले नै शशांकबाट सहयोग पाइन्।
आफू सभापतिका लागि उपयुक्त भएपनि प्रतिस्पर्धामा भने नगएको शशांकले बताए। ‘मलाई लाग्थ्यो म नै सभापतिका लागि उपयुक्त हुँ भन्ने मलाई लाग्थ्यो। तर त्यो आफूलाई लागेर मात्र हुँदैन। साथीहरुले के भन्छन् त्यसमा निर्भर हुन्छ। तर आगामी दिनमा एकैठाउँमा उभिनुपर्छ। कांग्रेस र राष्ट्रका लागि हामी एकैठाउँमा उभिन्छौँ। यो प्रतिबद्धता म भन्न चाहन्छु यहाँहरूलाई,’ सत्रमा सहभागी शशांकले भने।
सुजाताले पनि आउने महाधिवेशनमा एक भएर अघि बढ्ने बताइन्। ‘अबको महाधिवेशनमा हामी एक हुन्छौं। हामी एक नहुँदा पार्टीको दुर्दशा त देखिइहाल्यो,’ उनले भनिन्, ‘कोइराला परिवारबाट कोही एक जनालाई सभापति बनाएर जाने हो भने म सहयोग गर्न तयार छु।’
शेखरले आफू सधैं एकताकै पक्षमा रहेको बताएका थिए। ‘म सधैं एक भएर जानुपर्छ भन्नेमै छु, बिगारेको त उहाँहरू (सुजाता र शशांक) ले हो,’ शेखरले भने।


