काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलले बुढेसकालमा राष्ट्रपति पाएकोमा कृतज्ञता भएर सरकारले गरेको नराम्रो काममा पनि साथ दिने गरेको आरोप लगाएका छन्।
शुक्रबार पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले राजनीतिक अपराधीकरण र अपराधीकरणको राजनीति गरिरहेको भन्दै राष्ट्रपति पौडेलले बुढेसकालमा राष्ट्रपति पाएकोमा कृतज्ञता भएर साथ दिएको आरोप लगाएका हुन्।
‘सरकारले राजनीतिक अपराधीकरण र अपराधीकरण को राजनीति गरिरहेको छ,’ उनले भने, ‘अपराधी जेलमा बस्नुपर्दैन, प्रोफेसरको ढाड भाँच्यो भने मुद्दा फिर्ता लिन्छ। राष्ट्रपति महोदय बुढेसकालमा राष्ट्रपति पाएकोमा कृतज्ञ हुनुहुन्छ। जे लग्यो त्यो बढो खुसीको साथ लिने यो अवस्था छ।’
उनले सरकारले हिंसा फैलाउनका लागि फागुन १ गतेलाई राष्ट्रिय उत्सव घोषणा गरेकामा असहमति जनाउँदै भने, ‘सरकारको ध्यान कता छ भने हिंसा गरेको दिन फागुन १ गतेलाई राष्ट्रिय उत्सव घोषणा गर्ने बिदा दिने हिंसा सुरु गरेको दिनलाई। एड्स चाहिँ रोक्नका लागि मनाइन्छ। हिंसा दिवस रोक्नका लागि होइन, फैलाउनका लागि हो।’


