जनकपुर- राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार जानकी मन्दिरको दर्शन गरेका छन्।
राष्ट्रपतिलाई जानकी मन्दिरमा मूल महन्त रामतपेश्वर दासले स्वागत गरेका थिए।
राष्ट्रपति भएपछि पहिलोपटक जनकपुर पुगे पौडेलले जानकी मन्दिरमा पूजा पनि गरेका थिए।
उनी अखण्ड कीर्तन, दीप प्रज्जवलन तथा आरतीमा पनि सहभागी भए।
महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्रको भवन उद्घाटन तथा नागरिक अभिनन्दन कार्यक्रमका सहभागी हुन पौडेल जनकपुर आएका हुन्।
राष्ट्रपति पौडेललाई जनकपुर विमानस्थलमा मधेस प्रदेश प्रमुख हरिशङ्कर मिश्र, मुख्यमन्त्री सरोज यादव, पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधि, सङ्घीय सांसद, नगरप्रमुख तथा सुरक्षा निकायका प्रमुखले स्वागत गरेका थिए।


