काठमाडौं- वैदेशिक रोजगारीका लागि पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा चितवन भरतपुर महानगरपालिका-६ घर भई हाल काठमाडौं-३ बसुन्धरा बस्ने ४२ वर्षीय रविन्द्र अधिकारी छन्।
उनी राप्ती प्यालेसमेन्ट म्यानपावर कम्पनीका सञ्चालक हुन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई बसुन्धराबाट सोमबार पक्राउ गरेको हो।
प्रेम तामाङसहित चार जनाबाट २७ लाख २५ हजार रुपैयाँ ठगी गरेको आरोपमा उनलाई पक्राउ गरिएको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताए। उनले प्रतिव्यक्ति १२ लाख रुपैयाँ लाग्ने पोल्याण्ड पुगेपछि फुड प्याकिङमा मासिक एक लाख रुपैयाँ पारिश्रमिक पाइने आश्वासन दिएका थिए।
रकम संकलन गरेर फरार भएपछि पीडित वैदेशिक रोजगार विभागमा उजुरी गर्न पुगेका थिए। विभागले पक्राउका लागि पत्राचार गरेपछि कार्यालयको टोली उनको खोजीमा लागेको थियो।
अधिकारीलाई आवश्यक कारबाहीको लागि विभागमा पठाइएको रेग्मीले बताए।


