काठमाडौं- बारामा गोली प्रहार गरी एक जना भारतीय नागरिकको हत्या भएको छ।
मंगलबार साँझ ६:१० बजे नेपाल-भारत सीमानजिक पचरौता नगरपालिका-६ लक्ष्मीनियाँको पोखरीनजिक २२ वर्षीय युवकको हत्या भएको हो।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार भारत मोतिहारी दर्पा थाना-१ सुक्लहिया गाउँका अजितकुमार सिंहको गोली हानी हत्या भएको हो।
बारा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेका अनुसार घटना नेपाल-भारत सीमाभन्दा ७०० मिटर नेपालतर्फ हो।
न्यौपानेका अनुसार मृतक सिंह र घटनामा संलग्नहरू दुई वटा अनटेष्ट मोटरसाइकल लिएर नेपालतर्फ प्रवेश गरेका थिए।
२५ वर्षीय सुजितकुमार सिंह, २४ वर्षीय चञ्चल पाण्डे, २२ वर्षीय मनिषकुमार सहनी र २० वर्षीय कामेश्वर सहनी दुई वटा मोटरसाइकलमा सवार थिए।
पोखरीनजिक पुगेपछि सँगै मोटरसाइकलमा पछाडि बसेका सुजितले पछाडिबाट गोली हानी हत्या गरेको र त्यही मोटरसाइकल चढेर भारततर्फ भागेको न्यौपानेले बताए।
घटनास्थलबाट एक थान गोली र गोलीको खोका बरामद भएको छ। घटनास्थलको प्रारम्भिक अनुसन्धानपछि मृतकको शव पोष्टमार्टमको लागि नारायणी अस्पताल वीरगन्ज पठाइएको छ।


