ल्हासा- चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बुधबार छोङ्छिङ्बाट ल्हासा पुगेका छन्।
सिचुवान एअरलाइन्समार्फत स्थानीय समय अनुसार करिब १२ बजे प्रधानमन्त्री प्रचण्ड चीनको स्वशासित क्षेत्र तिब्बतको ल्याहासास्थित गोंगार विमानस्थलमा अवतरण गरेका हुन्।
गोंगार विमानस्थलमा प्रधानमन्त्री प्रचण्डलाई सांस्कृतिक झाँकीसहित स्वागत गरिएको थियो।
कार्यक्रमको सूचीअनुसार बुधबार साँझ प्रचण्डसँग चीनियाँ कम्युनिस्ट पार्टी सिचाङ (तिब्बत) स्वायत्त क्षेत्रीय समितिका सचिव वाङ चङ्छङ्ले भेटवार्ता गर्नेछन्।
सचिव वाङले प्रम प्रचण्डको सम्मानमा आजै साँझ रात्रिभोजको आयोजना गरिने भएको छ।
चीनसँग सीमा जोडिएका नेपालका उत्तरी क्षेत्रबाट चीनसँग विद्युत व्यापारका लागि प्रसारण लाइन निर्माणको समझदारी बनेको सन्दर्भमा प्रम प्रचण्डले ल्हासाको भ्रमण गरेका हुन्।
तिब्बतमा रहँदा प्रम प्रचण्डले कैलाश मानसरोवर (ताल ) एवं कैलाश पर्वतको भ्रमण समेत गर्ने कार्यक्रम छ।
ल्हासामा प्रधानमन्त्री प्रचण्डले ल्हासाका लागि नेपालको महावाणिज्यदूतको कार्यालयमा भ्रमण गर्ने कार्यक्रम पनि रहेको छ।
परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, खानेपानीमन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधार एवं यातायातमन्त्री प्रकाश ज्वालासहित भ्रमण दलका सदस्यहरू भ्रमणमा सहभागी छन्।
यसअघि प्रधानमन्त्री दाहाल मंगलबार बेइजिङबाट छोङछिङ सहर पुगेका थिए।
त्यहाँ चिनियाँ कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्यसँग भेटवार्ताका साथै कृषिका क्षेत्रमा छोङछिङ महानगरले गरेका कार्यहरुको जानकारी लिएका थिए।


