काठमाडौं- अध्यागमनको मिलेमतोमा भिजिट भिसामा खाडी मुलुक जान लागेका १९ जना त्रिभुवन विमानस्थलबाट समातिएका छन्।
मानव बेचबिखन ब्युरोले बिहीबार बिहान एयर जजिराबाट खाडी मुलुक जान लागेहरूलाई विमानस्थलबाट पक्राउ गरिएको हो।
उनीहरूलाई परामर्श दिनका लागि अहिले मानव बेचबिखन ब्युरोमा राखिएको प्रहरी उपरीक्षक कृष्ण पंगनीले बताए।
उनीहरू ओमान र कुवेत जान लागेका थिए। विमानस्थलबाट फर्काइएकामा अधिकांश महिला रहेको पंगेनीले बताए।
‘खाडी मुलुक जाँदा जोखिममा पर्ने, बेचबिखनमा पर्न सक्ने, श्रम शोषण हुन सक्ने भएकाले हामीले दैनिकजसो मानिसहरूलाई फर्काइरहेका हुन्छौं,’ पंगेनीले भने, ‘आज बिहान राति पनि १९ जना फर्काइएको हो।’
नक्कली कागजात तयार गरी पछिल्लो समय भिजिट भिसामा खाडी मुलुक जानेहरू बढेका छन्। त्यसमा विमानस्थलस्थित अध्यागमनका कर्मचारीहरूको मिलेमतो रहेको स्रोतले बतायो।
‘प्रत्येक दिन ५०-६० जना भिजिट भिसामा खाडी मुलुक गइरहेका छन्, त्यसमा एयर जजिरा, कुवेत, एयर अरेबिया, ओमान र हिमालयन नै प्रयोग भइरहेको छ,’ उक्त स्रोतले भन्यो।
मानव बेचबिखन ब्युरोले दिनहुँजसो समातेको भए पनि अध्यागमनबाट जाँचपास भइसकेकालाई फर्काउन नमिल्ने भएका कारण धेरै महिलाहरू खाडी मुलुक पुगेको अधिकारीहरू बताउँछन्।
यसमा बैंक खाताको विवरण, नाता प्रमाणितको कागजात र आइए पास भएको प्रमाणपत्र नक्कली बनाइने गरिएको छ।
‘उनीहरूले आफूले कुन कलेज पढेको भन्न पनि सक्दैनन्, त्यस्ता महिलाहरू कुवेत र ओमान पुगिरहेका छन्,’ स्रोतले भन्यो, ‘अध्यागमनका कर्मचारीले प्रतिव्यक्ति २५ देखि ६० हजार रुपैयाँसम्म घुस लिएर कागजातमा आँखा चिम्लिदिने गरेका छन्।’
सन् २०१२/१३ मा श्रम स्वीकृतिमै खाडी मुलुक ओमान र कुवेतमा महिलाहरू जाने गरेका थिए। त्यहाँ जाँदा घरेलु हिंसामा परेको, जोखिम बढेको पाइएपछि बीचमा सरकारले महिलाहरूलाई ती मुलुकमा श्रम स्वीकृति बन्द गर्यो।
तर, क्लिनरको रूपमा पठाउन पाउनुपर्ने भन्दै म्यानपावर व्यवसायीले दबाब दिएपछि सरकारले फेरि श्रम स्वीकृति खुला गरेको छ। दुई महिनायता क्लिनरको रूपमा भन्दै श्रम स्वीकृतिमै महिलाहरूलाई कुवेत र ओमान पठाउन थालिएको छ।
‘क्लिनर भनेको घरमै काम गर्ने होइन र?,’ नेपाल क्लिक्ससँग एक अधिकारीले भने, ‘घोषित रूपमै महिलाहरूलाई फेरि ओमान र कुवेतमा पुर्याएर जोखिममा पारिँदैछ।’
श्रम स्वीकृति गर्दा समय लाग्ने भएकाले अधिकांशहरू अहिले भिजिट भिसामा ती मुलुक जान थालेका छन्।
भिजिट भिसामा जाँदा आईए पास भएको शैक्षिक प्रमाणपत्र चाहिन्छ। कुन होटलमा बस्ने हो र भिसा अवधिभर हुने खर्च विवरण (बैंक स्टेटमेन्ट) देखाउनुपर्ने हुन्छ। भिजिट भिसामा जाँदा सम्बन्धित देशमा आफ्नो नातेदार को छ भनी कागजात देखाउनुपर्ने हुन्छ। ती सबै नक्कली बनाइने गरिएको ती अधिकारीले बताए।
सरकारले पछिल्लो समय भिजिट भिसामा कडाइ गरेको थियो। तर, अध्यागमनका कर्मचारीले मिलेमतोमा यसलाई सहज पारिदिएको ती अधिकारीले बताए।
अध्यागमन विभागका महानिर्देशक रुद्रसिंह तामाङले श्रम र स्थानीय पालिकाको कागजात हेरेरै पठाइने गरिएको बताए। ‘श्रम स्वीकृतिको प्रणालीबाट आएका र स्थानीय पालिकाको कागजात लिएर आएकालाई हेरेर, प्रमाणित गरेरै पठाइने गरिन्छ, आशंकितहरूलाई अध्यागमनले फर्काइरहेकै हुन्छ,’ तामाङले भने, ‘म यहाँ हाजिर भएको भर्खरै हो, अनियमितता भए/नभएको कुरा बुझ्छु।’
त्रिभुवन विमानस्थलस्थित अध्यागमन कार्यालयका प्रमुख गोगनबहादुर हमालले नाता प्रमाणित पालिकाबाट हुने र त्यो कागजातबारे पालिकासँग सोधिने गरेको बताए।
‘सबै कुरा हेर्न नभ्याइएका कारण पनि हुन सक्छ, मिलेमतोमा गएको भन्ने कुरा छानबिनको पाटो हो,’ उनले भने, ‘म पनि यहाँ भर्खरै आएकोले सबै कुरा बुझिसकेको छैन।’


