काठमाडौं- सर्लाहीमा जलाउन घाटमा पुर्याइएको युवतीको शव प्रहरीले नियन्त्रणमा लिएको छ।
सर्लाहीको रामनगर गाउँपालिका-१ खैर्वाका २१ वर्षीया मनिषा साहको शव प्रहरीले बुधबार घाटबाट नियन्त्रणमा लिएको हो।
शंकास्पद मृत्यु भएकोमा कानुनी प्रक्रिया नपुर्याई जलाउने तयारी भइरहेको सूचना आएपछि शव नियन्त्रणमा लिइएको सर्लाही प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपेन्द्र पञ्जियारले बताए।
उनका अनुसार बुधबार बिहान ११ बजेतिर मनिषा झुन्डिएको अवस्थामा फेला परेकी थिइन्। प्रहरीले दिउँसो साढे २ बजेतिर घाटबाट शव नियन्त्रणमा लिएको हो।
‘जलाउने तयारी भइरहेको जानकारी आएपछि हाम्रो टोलीले घाटमा पुगेर शव नियन्त्रणमा लिएको हो,’ पञ्जियारले भने।
शव पोष्टमार्टमको लागि अहिले मलंगवास्थित प्रादेशिक अस्पताल लगिएको छ।
घटनाबारे अनुसन्धानका लागि तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा मनिषाका श्रीमान् सुनिल, ससुरा रामेश्वर र देवर रामबाबु रहेका छन्।
मनिषाको माइती सर्लाहीकै कविलासी गाउँपालिका-३ मा हो। माइती पक्षले हत्या गरेको दाबी गरेका छन्।
घटनाबारे अनुसन्धान भइरहेको पञ्जियारले बताए।


