विराटनगर- नेकपा एमाले कोशी प्रदेशको पहिलो अधिवेशन जारी छ। शुक्रबार सुरु भएको अधिवेशनमा शनिबार राजनीतिक, आर्थिक र सांगठनिक प्रतिवेदनमाथि छलफल हुँदैछ।
अधिवेशनमा हिजो विभिन्न प्रतिवेदनहरु प्रस्तुत गरिएको थियो। राजनीतिक र सांगठनिक प्रतिवेदन कोशी प्रदेशका अध्यक्ष तुलसीप्रसाद न्यौपानेले प्रस्तुत गरेका थिए।
एमाले आर्थिक विभागका केन्द्रीय प्रमुख पुष्प कँडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए। प्रतिवेदनहरुमाथि छलफलपछि पारित गरिने जनाइएको छ।
प्रदेशको नेतृत्वका लागि दुईजनाले प्रतिस्पर्धा गर्ने भएका छन। केन्द्रीय सदस्य घनश्याम खतिवडा र विनोद ढकाल नेतृत्वको प्रतिस्पर्धामा छन्।
अधिवेशनको बन्द शत्र सञ्चालन गर्न केन्द्रीय सचिव तथा कोशी प्रदेश इन्चार्ज रघुवीर महासेठको संयोजकत्वमा ११ सदस्यीय अध्यक्ष मण्डल बनाइएको छ।
अध्यक्ष मण्डलमा शेरधन राई, हिक्मतकुमार कार्की, अग्नि खरेल, शिवमाया तुम्बाहाम्फे, राजेन्द्र गौतम, भगवती चौधरी, जगदिश कुसियैत, राम राना मगर, पर्शुराम मेघी गुरुङ र सुनिता बराल सदस्य छन्।
अधिवेशनमा १३७ पालिका, २३ जनवर्गीय संगठन, दलित, मजदुर समेत गरी ९ सय ९७ जना प्रतिनिधि सहभागी रहेको आयोजक समितिले जनाएको छ। अधिवेशनले पाँच जना पदाधिकारीसहित २१५ सदस्यीय कमिटी चयन गर्नेछ।
कर्णालीमा मतदानको तयारी
उता कर्णाली प्रदेश समितिमा नेतृत्व चयनका लागि १२ बजेबाट मतदान सुरु हुँदैछ। आज बिहान ८ बजे उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिनेछ।
कर्णाली प्रदेशको भावी अध्यक्षका लागि पाँच जनाको उम्मेदवारी दर्ता भएको छ ।
अध्यक्षका लागि गुलावजंग शाह, मीनबहादुर शाही, राजबहादुर शाही, प्रेमबहादुर सिंह र प्रकाश रोकायाले उम्मेदवारी दर्ता गराएका छन् ।
आज हुने निर्वाचनले एमाले कर्णालीमा पाँचजना पदाधिकारी सहित १३५ सदस्यीय कमिटी निर्वाचित गर्नेछ । अधिवेशनमा कर्णालीका १० जिल्लाबाट ६०४ प्रतिनिधिहरु रहेका छन्।
बागमती एमालेमा कोको आए?
नेकपा एमाले बागमती प्रदेश समितिको अध्यक्षमा कैलाश ढुंगेल विजयी भएका छन्।
शुक्रबार भएको मतदानमा अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलको समर्थन पाएका ढुंगेल अध्यक्षमा विजयी भएका हुन्।
ढुंगेलले ६९६ मत पाएका थिए। अर्का प्रत्यासी कृष्ण दाहालले ४३९ मत पाए।
उपाध्यक्षमा पनि ढुंगेल प्यानलकै दावा दाेर्जे लामा ६१५ मतसहित विजयी भए। सचिवमा नवराज सिलवालले ५६८ मत पाएर विजयी प्रतिस्पर्धी हस्त पण्डितले ५६७ मत पाए। सिलवाल कृष्ण दाहाल समूहका हुन्।
त्यस्तै उपसचिव (महिला) मा दाहाल समूहकी भक्तकुमारी लामा र उपसचिव (पुरूष) मा ढुंगेल समूहका प्रेम महर्जन विजेता बने।


