काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ काठमाडौँ आइपुगेका छन्।
चीन भ्रमणगरी प्रचण्ड छेन्दुबाट एयर चाइनामार्फत् केही बेरअघि काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।
राष्ट्रसंघको महासभामा भाग लिन भदौ ३० गते अमेरिकाका लागि प्रस्थान गरेका प्रचण्ड गत शनिबार उताउतै चीन गएका थिए।
चीनको हाङजाउ जारी एसियाली खेलको उद्घाटन समारोहमा उनले भाग लिएका थिए।
हाङझाउमा नै राष्ट्रपति सी जिनपिङसँग उनले भेट गरेका थिए।
यसपछि उनी बेइजिङ पुगेका थिए। प्रचण्डले बेइजिङमा समकक्षी ली छ्याङसँग भेट गरेका थिए।
भेटमा नेपाली र चिनियाँ प्रतिनिधिबीच १३ वटा समझदारी भएको थियो।
भ्रमण दलमा परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, प्रधानमन्त्री दाहालका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेल, राष्ट्रिय सुरक्षा सल्लाहकार शङ्करदास बैरागी, मुख्यसचिव डा. वैकुण्ठ अर्याल, विभिन्न मन्त्रालयका सचिव रहेका छन्।


