काठमाडौं- पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्यसचिव डा. प्रदीप ढकाल र हालका सदस्यसचिव डा. मिलनकुमार थापाविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार ढकाल र थापाविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।
दुबैसँग १ करोड १७ लाख १ हजार ७८१ रुपैयाँ बिगो, जरिवाना र जेल सजाय माग गरिएको अख्तियार प्रवक्ता भोला दाहालले बताए।
पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राख्दा उनीहरूले भ्रष्टाचार गरेको आरोप लागेको छ।
२०७७ सालमा मन्दिरमा जलहरी राख्दा ढकाल सदस्य सचिव र थापा कोषाध्यक्ष थिए।
थापा अहिले सदस्य सचिव छन्। जलहरी राख्दा एक किलो ४९१.७१८ ग्राम सुन हिनामिना गरेको देखिएको अख्तियारले अभियोग पत्रमा उल्लेख गरेको छ।
यस्तै, कोषमा कार्यरत् स्टोरकिपर अरूणकुमार श्रेष्ठविरूद्ध पनि मुद्दा दायर भएको छ। उनीसँग सोही बराबरको बिगो माग दाबी गरिएको छ।
पशुपतिनाथ मन्दिरमा ९६.८२२ ग्रामको जलहरी राखिएको नक्कली प्रतिवेदन बनाएर उनीहरूले सुन अपचलन गरेको अख्तियारको दाबी छ।
२०७७ फागुन ११ गते राति ११ बजे गरिएको मुचुल्कामा १ किलो ४९१.७१८ ग्राम सुन बाँकी रहँदारहँदै जलहरी निर्माण टुंग्याइसकेको प्रतिवेदन बनाएएको थियो।
जलहरीमा सुनको मात्रा घटाएर चाँदी र तामा मात्रै बढाएको अनुसन्धानमा देखिएको अख्तियारको भनाइ छ।


