काठमाडौं- असोज ९ गते बेलुका ६:१० बजे बारा पचरौता नगरपालिका-६ लक्ष्मीनियाको पोखरीनजिक भारतका एक युवकको गोली प्रहार गरी हत्या भयो।
प्रहरीका अनुसार नेपाल-भारत सीमाभन्दा करिब ७०० मिटर नेपालतर्फ भारत मोतिहारी दार्पा थाना-१ सुक्लहिया गाउँ बस्ने २२ वर्षीय अजितकुमार सिंहको हत्या भएको थियो।
मृतक अजितकुमारले मोटरसाइकल चलाएका थिए। उनको पछाडि सोही ठाउँका ठाउँका २५ वर्षीय सुजितकुमार सिंह बसेका थिए।

बारा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेका उनीहरू अनटेष्ट मोटरसाइकलमा सवार थिए।
पोखरीनजिक आइपुगेपछि सुजितकुमारले अजितको टाउकोमा गोली हानेका थिए। गोली हानी हत्यापछि सुजितकुमार मोटरसाइकल लिएर भारततिर भागेका थिए।
अजित र सुजितसँगै अर्को एउटा अनटेष्ट मोटरसाइकल सँगै आएको थियो। हत्यापछि त्यो मोटरसाइकलमा सवार अन्य तीन जना पनि भारततिरै फरार भए।

उनीहरू थिए – २४ वर्षीय चञ्चल पाण्डे, २२ वर्षीय मनिषकुमार सहनी र २० वर्षीय रूपेशकुमार सहनी।
सुजितकुमार, चञ्चल, अनिषकुमार सबै फरार छन्। हत्यामा सहयोगी बनेका सोही ठाउँका २० वर्षीय कामेश्वर सहनी र २० वर्षीय रञ्जित मुखिया पनि फरार छन्।
भारतमा सुजितकुमारको आपराधिक समूह छ। हत्या भएका अजित त्यो समूहका सदस्य थिए।
न्यौपानेका अनुसार घटना अनुसन्धान गर्दै जाँदा हत्यामा अजितकी श्रीमती २२ वर्षीया सोनम सहनी सिंह दृश्यमा देखिइन्।
उनी पनि यही समूहकी सदस्य रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
उनी बारा सिम्रौनगढ बजारमा कोठा भाडामा लिएर बस्थिन्। प्रहरीले पक्राउ गरेपछि अजितको हत्यामा सोनमको भूमिका उजागर भएको हो।

‘सहनीले आफ्ना श्रीमान् कता जान्छन्, के गर्छन् भनी ‘रेकी’ गर्ने गरेकी थिइन्, हत्याको योजना उनले बनाएको देखिन्छ,’ न्यौपानेले भने।
प्रहरीले आइतबार पत्रकार सम्मेलन गरी सोनमलाई सार्वजनिक गरेको छ।
यो समूहले सन् २०२२ मा भारत मोतिहारी दार्पा ग्रामपञ्चायत-१४ का उपप्रमुखको हत्या गरेको खुलेको छ।
यस्तै, २०७९ मा यही समूहले दार्पा थाना ग्राम पञ्चायतकै ४४ वर्षीय शिवपुजन यादवको हत्या गरेको खुलेको छ।
यादव सो ग्रामपञ्चायतका वडाध्यक्षका भाइ हुन्। यी दुबै हत्यामा अजितकुमार संलग्न थिए।
यो समूहले करिब तीन वर्षअगाडि भारतको घोडासहनमा सुन लुटपाट गरेको थियो।
लुटेको सुनबाट हत्या भएका अजितकुमारलाई ८ लाख रुपैयाँ दिने सर्त थियो। उक्त रकम सामूहिक रुपमा उनीहरूले छौडादानो भन्ने ठाउँमा जग्गा पलिटङमा लगाए।
उक्त जग्गाको हिस्साको विषयमा उनीहरूबीच उग्र विवाद थियो।
यता, सुजितकुमार सिंह मृतककी श्रीमती सोनम सहनीसँग ‘अनैतिक सम्बन्ध’ राख्थे। त्यही सम्बन्धका कारण समूहका ‘नाइके’ रहेका सुजितकुमार अजितसँग त्रसित थिए।
त्यसैले, उनले सोनमको साथ लिएर अजितको हत्यामा ‘सुटर’ बनेको न्यौपाने बताउँछन्।
अजितको हत्यापछि समूहमा नयाँ सदस्य थप्ने उनीहरूको योजना थियो। पुरानालाई सिध्याउने अर्को नीति अनुसार उनीहरूले अजितकुमारको हत्या गरेको खुलेको छ।
‘अजितका कारण आफूहरूलाई चुनौती भएको ठानेर हत्याको योजना बनाएको खुलेको छ,’ न्यौपानेले भने।
सोनमले सिम्रौनगढ बसेर हत्या गर्ने स्थानका लागि ‘समन्वय’ गरेको न्यौपाने बताउँछन्।
‘यो घटनामा जग्गाको हिस्साको विवाद रहेकाले आर्थिक कारण जोडिएको भने छ,’ न्यौपाने भन्छन्, ‘तर, सोनमले बिना कुनै सुपारी आफ्ना श्रीमानको हत्या गर्न लगाएको बुझिन्छ।’

प्रहरीले हत्या हुनुअघि नेपाल-भारत सीमामा राखिएको सिसिटिभी फुटेज भेट्टाएको छ। जसमा अजितकुमार अगाडि र सुजितकुमार मोटरसाइकलको पछाडि देखिन्छन्।
अरू तीन जना सवार मोटरसाइकल पछाडि रहेको देखिन्छ। प्रहरीका अनुसार त्यो मोटरसाइकलमा सवारले अजितको हत्या भएको ठाउँसम्म ‘स्कर्टिङ’ गरेको र हत्यापछि सुजितलाई भाग्न सहयोग गरेको देखिएको न्यौपाने बताउँछन्।
हत्यामा संलग्न ती फरारहरूको खोजी प्रहरीले गरिरहेको छ।


