काठमाडौं- संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दैछ।
बैठक बिहीबार दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ।
संसद सचिवालयका अनुसार आजको बैठकमा उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले विद्युत विधेयक २०८० पेस गर्ने कार्यसूची रहेको छ।
यसअघि उक्त विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्रेम सुवालबाट प्राप्त विरोधको सूचना निर्णयार्थ प्रस्तुत गरिनेछ।
आजको बैठकमा प्रतिनिधिसभाका पूर्व सदस्य खेमराज भट्ट मायालुको निधनमा सभामुख देवराज घिमिरेले शोक प्रस्ताव प्रस्तुतसमेत गर्नेछन्।

असोज ५ गते ‘मायालु’को निधन भएको थियो।
२००४ सालमा डडेल्धुराको डुङ्गरी भन्ने स्थानमा जन्मिएका भट्ट गणतन्त्रका लागि आवाज उठाउने अग्रणी नेताहरुमध्ये एक मानिन्छन्।
२०३० सालतिर स्वर्गीय रामराजा प्रसाद सिंहसँग मिलेर जनवादी मोर्चा गठन गर्नुअघि उनको राजनीतिक पृष्ठभूमि नेपाली कांग्रेस निकट थियो। २०५३ सालमा फेरि नेपाली कांग्रेसमै फर्किएका थिए।
२०५६ सालमा बर्दिया क्षेत्र नं ३ बाट प्रतिनिधि सभा सदस्यमा उनी निर्वाचित भएका थिए। २०५८ सालमा गठित शेरबहादुर देउवा नेतृत्वको सरकारमा उनी सामान्य प्रशासनमन्त्री भएका थिए।
२०७० सालमा भने उनी पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको तत्कालीन एकीकृत नेकपा माओवादीमा प्रवेश गरेका थिए।


