काठमाडौं- स्याङ्जा जिल्ला चापाकोट नगरपालिकाका सिनियर अहेब बिन्दु कोइरालाविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा कोइरालाविरूद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।
उनीसँग ९० लाख ३९ हजार ६२० रुपैयाँ बिगो, जरिवाना र जेल सजाय माग दाबी लिएर मुद्दा दायर गरिएको अख्तियार प्रवक्ता भोला दाहालले बताए।
कोइराला २०५४ साल कात्तिक ५ गतेदेखि सरकारी सेवामा प्रवेश गरेका थिए। उनले २०७८ मंसिर २१ गतेसम्ममा उक्त रकम गैरकानुनी तरिकाले आर्जन गरेको देखिएको अख्तियारको दाबी छ।
सो अवधिमा कोइरालाले आर्जन गरेको वैध आम्दानी २ करोड ९७ लाख ८१ हजार ८०२ रुपैयाँ देखिएको अख्तियारको अनुसन्धानमा देखिएको छ।
तर, कोइरालाले त्यही अवधिमा ३ करोड ८८ लाख २१ हजार ४२२ रुपैयाँ खर्च गरेको देखिएको छ।
कोइरालाले सरकारी सेवा सुरू गरेदेखि कानुनी रूपमा पारिश्रमिक, पैतृक सम्पत्ति, घर-जग्गा बिक्री, कृषि आय, कोभिड भत्ता, कर्जा आय, दैनिक भ्रमण भत्ता एवम् अतिरिक्त भत्ता, बुवाबाट प्राप्त रकम, बैंक ब्याजबाट प्राप्त रकम, सवारी बहालबाट प्राप्त रकम, सवारी साधन बिक्रीबाट आर्जन गरेको देखिएको छ।
तर, कोइरालाले घर निर्माण, उद्योग व्यवसायमा लगानी, कर्जा भुक्तानी, जग्गा खरिद, सेयर खरिद, शैक्षिक खर्च, सवारी साधन खरिद, बैंक मौज्दात, विवाह खर्च, सवारी राजस्व, पुँजीगत लाभकर र अन्य सामान खरिदमा खर्च गरेको देखिएको छ।
आम्दानी र खर्चको विवरण अनुसन्धान गर्दा उनले अस्वाभाविक जीवनयापन गरेको पाइएको दाबी अख्तियारको छ।
कोइरालाले सार्वजनिक सेवाको पदमा रहँदा गैरकानुनी रुपमा आर्जन गरेको रकम श्रीमती गीता कोइरालाको नाममा राखेको देखिएको छ। गीतालाई उक्त स्रोत नखुलेको सम्पत्ति जफत गर्ने प्रयोजनका लागि मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।


