काठमाडौं – अनलाइन जुवा खेलाएर सवा २४ करोड ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा झापा दमक नगरपालिका-१२ घर भएका ३० वर्षीय पिन्टुकुमार साह रहेका छन्।
साहलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टोलीले बिहीबार बेलुका पक्राउ गरिएको प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताए।
उनका अनुसार साहलाई दमकबाटै पक्राउ गरी शुक्रबार काठमाडौं ल्याइएको हो।
साहले वान एक्स बेट, मेल बेटलगायत अनलाइन जुवा खेलाएर उक्त रकम ठगी गरेको रेग्मीले बताए।
‘यसबारे अनुसन्धान भइरहेको छ, उनले अनलाइन जुवा खेलाएर उक्त रकम ठगी गरेको पाइएको छ,’ उनले भने।
साहले २४ करोड १५ लाख १७ हजार १३८ रुपैयाँ ठगेको प्रारम्भिक जाहेरीहरूबाट खुलेको रेग्मीले बताए।


