काठमाडौँ- उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासँग नेपालका लागि बेलायतका आवासीय राजदूत एचइ रोव फेनले रक्षा मन्त्रालयमा शिष्टाचार भेट गरेका छन्।
भेटका अवसरमा नेपाल र बेलायतबीच रहिआएको मैत्रीपूर्ण सम्बन्धलाई आगामी दिनमा अझ प्रगाढ बनाउँदै द्विपक्षीय हितलाई थप प्रवर्द्धन गर्ने विषयमा छलफल भएको थियो।
खड्काले नवनियुक्त राजदूतलाई आफ्नो कार्यकक्षमा स्वागत गर्दै बेलायत र नेपालबीच सरकारी स्तरमा मात्र नभई जनस्तरमा समेत घनिष्ठ र सौहार्द्रपूर्ण सम्बन्ध रहेको बताए।
उनले फेनको नेपाल बसाईको क्रममा दुई देशबीचको सम्बन्धलाई थप फराकिलो बनाउँदै नयाँ उचाइमा पु¥याउन सहयोग पुग्ने विश्वास पनि व्यक्त गरेका छन्।
भेटवार्ताका क्रममा उनले सेवा निवृत्त ब्रिटिस गोर्खा सैनिकलाई समान पेन्सन लगायतका सुविधाहरू उपलब्ध गराउने सम्बन्धमा संयुक्त अधिराज्य सरकारबाट आवश्यक सहयोग हुने विश्वास व्यक्त गरेका छन्।
भेटवार्ताका क्रममा जलवायु परिवर्तन, दुई देशका सेनाबीच सहयोग आदान–प्रदान लगायतका विषयमा समेत छलफल भएको थियो।
उक्त भेटमा संयुक्त अधिराज्यका नवनियुक्त राजदूत एचइ रोव फेनले दुई देशबीच मैत्रीपूर्ण सम्बन्ध कायम भएको सय वर्ष पूरा भएको र यसबीचमा दुई देशको सम्बन्धले नयाँ उचाइ लिएको बताएका छन्।
नेपालले संयुक्त राष्ट्रसंघको आह्वानमा विश्वशान्ति स्थापना कार्यमा पुर्याएको योगदान विशिष्ट रहेको कुरा उल्लेख गर्दै उनले नेपालको आर्थिक, सामाजिक र मानवीय विकासमा सहयोग गर्न संयुक्त अधिराज्य सरकार सदैव तत्पर रहेको बताए।
उनले आफ्नो कार्यकालको दौरान नेपाल र संयुक्त अधिराज्यबीचको द्विपक्षीय सम्बन्धलाई थप फलदायी र उपलब्धिमूलक बनाउन निरन्तर प्रयास गर्ने पनि बताए।
शिष्टाचार भेटका अवसरमा रक्षा मन्त्रालय तथा परराष्ट्र मन्त्रालयका अधिकारीहरूको समेत उपस्थिति रहेको थियो।


