विराटनगर- प्रदेशसभाबाट विश्वासको मत पाउन नसक्ने निश्चित भएपछि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले पदबाट राजीनामा दिएका छन्।
शनिबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले राजीनामा दिएका हुन्।
कार्कीले राजीनामा घोषणा गरेसँगै एमाले प्रदेश सरकारको नेतृत्वबाट बाहिरिएको छ।
शनिबारको प्रदेशसभा बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने कार्यसूची तय थियो। विपक्षमा बहुमत सांसदले मतदान गर्ने निश्चित भएसँगै कार्कीले राजीनामा घोषणा गरेका हुन्।
नेपाली कांग्रेस (२९), नेकपा माओवादी केन्द्र (१३), नेकपा एकीकृत समाजवादी (४) र जनता समाजवादी (१)ले विपक्षमा मतदान गर्ने घोषणा गरेका थिए।
यसपटक ६ जना सांसद भएको राप्रपाले पनि साथ नदिँदा प्रदेशमा एमाले एक्लिएको हो।
एमाले नेताहरुका अनुसार संविधानको धारा १६८ को उपधारा ३ अनुसार नियुक्त मुख्यमन्त्रीले विश्वासको मत नपाए उपधारा ५ अनुसार नेतृत्वमा दाबी गर्न नपाउने भन्ने सुझाव आएपछि कार्कीले राजीनामा दिएका हुन्।
तीन महिना अघि पनि विश्वासको मत पाउन नसकेर पदमुक्त बनेका एमाले नेता कार्की पहिलोपटक पुस २४ मा मुख्यमन्त्री नियुक्त भएर असार १५ मा १७४ दिनपछि पदमुक्त बनेका थिए।
यसपटक पनि विश्वासको मत लिने तयारीमा रहेका उनी पार्टी अध्यक्ष केपी ओलीसँगको सल्लाहपछि राजीनामा दिने मनस्थितिमा पुगेका थिए।
सरकार बन्ने र ढल्ने क्रम बाक्लै चलिरहेको कोशी प्रदेशमा चौथो सरकार पनि बिदा भएपछि अब संविधानको धारा १६८ को उपधारा ५ अनुसारको सरकार बन्ने बाटो खुला भएको छ।
दोस्रो कार्यकालका लागि प्रदेशसभा गठन भएको १० महिनाभित्र सरकार निर्माणका सबै संवैधानिक विकल्प प्रयोगमा आउने भएको छ।


