काठमाडौँ- कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस, एमाले र माओवादीका नेताहरूले दाबी गरेका छन्।
कांग्रेस संसदीय दलका नेता उद्धव थापा, माओवादी संसदीय दलका नेता इन्द्र आङ्बो र एमाले संसदीय दलका नेता हिक्मत कार्कीले पनि आगामी मुख्यमन्त्री बन्नका लागि दाबी गर्न थालेका छन्।
प्रदेश सभाको ठूलो दलको हैसियतमा मुख्यमन्त्रीमा नियुक्त भएका एमाले संसदीय दलका नेता हिक्मत कार्कीले राजीनामा दिएपछि नयाँ सरकार गठनको बाटो खुलेको हो।
कार्कीले विश्वासको मत लिने तयारी गरेका थिए। तर राजीनामा नदिई विश्वासको मत नपाएर सरकार ढलेको अवस्थामा पुनः मुख्यमन्त्रीमा दाबी गर्न नमिल्ने सुझाव कानुनविदहरूले दिएपछि उनी विश्वासको मत नलिई राजनीमा बुझाउन प्रदेश प्रमुखको कार्यालय पुगेका थिए।
यसपटक पनि विश्वासको मत लिने तयारीमा रहेका उनी पार्टी अध्यक्ष केपी ओलीसँगको सल्लाहपछि राजीनामा दिने मनस्थितिमा पुगेका थिए।
उनी पनि अब बहुमत पुर्याएर सरकारको दाबी गर्ने पक्षमा छन्।
उता माओवादी संसदीय दलमा भने यसअघि नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाउनका लागि आफूहरूले पटकपटक त्याग गरिसकेकोले अब आफ्नै नेतृत्वमा सरकार बनाउनुपर्ने विषयमा छलफल भएको छ।
यसअघि दुई दुई पटक सरकार बनाउन कांग्रेसलाई समर्थन गरे पनि विश्वासको मत प्राप्त गर्न नसकेकाले अब माओवादीको नेतृत्वमा सरकार बनाउनुपर्ने आङ्बोको तर्क छ।
प्रदेशसभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै थापाले मुख्यमन्त्रीमा आफ्नो दाबी रहने बताए। ‘निर्णय चाहि गठबन्धनका शीर्ष नेताहरुले गर्नुहुन्छ,’ उनले भनेका थिए। दुई पटक मुख्यमन्त्री बन्ने अवसर पाए पनि काम गर्ने मौका नपाएको उनको जिकिर छ।
सर्वोच्च अदालतको परमादेशपछि अल्पमतको सरकारको नेतृत्व गरिरहेका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने समयसीमा आजसम्मको थियो।
भदौ २२ मा संविधानको धारा १६८ को उपधारा ३ अनुसार गठित सरकारलाई अन्य दलहरुले साथ नदिएपछि कार्की नेतृत्वको सरकार ३० दिनमै बिदा भएको हो।
अब संविधानको धारा १६८ (५) अनुसार विश्वासको मत जुटाउन सक्ने आधार प्रस्तुत गर्ने व्यक्तिलाई प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गर्न सक्नेछ।


