काठमाडौँ- नेकपा (एमाले) सुदूरपश्चिम प्रदेशको बन्दसत्र सोमबारबाट सुरू हुँदै छ। बन्दसत्रमा निवर्तमान अध्यक्ष दामोदर भण्डारीको राजनीतिक, सांगठनिक प्रतिवेदनमाथि समूहगत छलफल गराएर पारित भएसँगै नेतृत्व चयनको प्रक्रिया सुरू हुनेछ।
एमाले सुदूरपश्चिम प्रदेश अध्यक्षमा तीन जना आकांक्षी देखिएका छन्।
निवर्तमान कमिटीका उपाध्यक्ष कमल तिमिल्सिना, पूर्वजिविस सभापति कृष्णप्रसाद जैसी अध्यक्ष बन्ने दौडमा छन्। त्यस्तै नेकपा विभाजनका बेला एमालेबाट युवा संघका अध्यक्ष बनेका वचन सिंह पनि अध्यक्षको आकांक्षी छन्। जैसी र तिमिल्सिनाबीच प्रतिस्पर्धा हुने एमालेका स्थानीय नेताको भनाइ छ।
आइतबार अधिवेशन उद्घाटन भएको थियो। यसपछि महासचिव शंकर पोखरेलले सहमतिको प्रयास गरेका थिए। पार्टी अध्यक्ष केपी शर्मा ओलीले सहमतिमै नेतृत्वको टुंगो लगाउन महासचिव पोखरेललाई निर्देशन दिएर काठमाडौं फर्किइसकेका छन्।
२०५४ सालमा अछामका जिविस सभापति रहेका जैसी पोलिटब्युरो सदस्य कर्ण थापा निकट हुन्। उनी सके सहमतिमा अध्यक्ष बन्ने नभए चुनावमा नै जाने रणनीतिमा छन्।
तिमिल्सिनाको साथमा भीम रावललगायत ओलीइतरहरू एकत्रित छन्। ‘सुदूरपश्चिमको एमाले राजनीतिमा रावलको प्रभाव रहने भएकाले तिमिल्सिना पनि बलियो प्रतिस्पर्धी हुन्,’ तिमिल्सिना निकट एक प्रतिनिधिले भने।
एमाले सुदूरपश्चिम प्रदेश अधिवेशनमा ६ सय ५७ जना प्रतिनिधि रहेका छन्। प्रदेश अधिवेशनले ५ पदाधिकारीसहित १ सय ५५ सदस्यीय कमिटी निर्वाचित गर्ने छ।
एमालेले लुम्बिनी, बागमती, कर्णाली, कोशी, गण्डकी, उपत्यका विशेष प्रदेश कमिटी अधिवेशन गरिसकेको छ।


