काठमाडौँ- संसद्मा प्रतिनिधित्व गर्ने दलहरूले जनताको साझा दुःखमा एकैठाउँमा उभिएर सहकार्य गर्ने निष्कर्ष निकालेका छन्।
सिंहदरबारस्थिति प्रधानमन्त्री कार्यालयमा बसेको सर्वदलीय बैठकले यस्तो निष्कर्ष निकालेको हो।
सत्तापक्ष र प्रतिपक्ष भन्ने नभई जनताको पक्षमा उभिने निष्कर्ष निकालेको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए।
‘दुःखको समयमा सत्तापक्ष, प्रतिपक्ष नभइकन नेपाली जनताको साझा दुःखमा एकैठाउँमा उभिएर सहकार्य गर्ने दलहरूको निष्कर्ष रहेको छ,’ मल्लले फेसबुकमा लेखेका छन्।
इजरायल संकटबाट नेपालीहरूको उद्धारका विषयमा छलफल गर्न प्रधानमन्त्री दाहालले सर्वदलीय बैठक बोलाएका थिए।
यसअघि बसेको माओवादी संसदीय दलको बैठकमा पनि प्रधानमन्त्री दाहालले इजरायलको जोखिमयुक्त क्षेत्रबाट नेपालीहरूलाई उद्धार गर्न हरसम्भव प्रयास भइरहेको बताएका थिए।


