काठमाडौँ- नेकपा (एमाले) मधेस प्रदेशको अधिवेशन बुधबारदेखि सुरु हुँदैछ।
नयाँ कार्यसमिति चयनका लागि हुने जनकपुरमा अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको एमालेले जानकारी दिएको छ।
पार्टीका प्रदेश अध्यक्ष रामअवतार यादवले एक हजार २७ जना प्रतिनिधि अधिवेशनमा सहभागी हुनेछन्।
कार्यक्रमस्थल व्यवस्थापन, अतिथि र पाहुनाको आवासलगायत अत्यावश्यक सबै कामको तयारी पूरा भएको जानकारी यादवले दिए।
अधिवेशनले ११० सदस्यीय प्रदेश कमिटी चयन गर्नेछ।
उता एमाले सुदूरपश्चिममा भने सहमतिको प्रयास विफल भएको छ।
सहमति नजुटेपछि निर्वाचनका लागि कार्यतालिका संशोधन गरी सार्वजनिक गरिएको छ।
मंगलबार अबेर राति प्रकाशन गरिएको कार्यतालिकाअनुसार उम्मेदवारी फिर्ताको समय बुधबार बिहान ८ बजेसम्मलाई तय गरिएको छ।
बिहान ९ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन र दिउँसो १ बजेदेखि अपराह्न ४ बजेसम्म निर्वाचनको समय निर्धारण गरिएको छ।
एमाले सुदूरपश्चिममा ६५७ जना प्रतिनिधिले मतदान गर्नेछन्।
ओलीको निर्देशनअनुसार सर्वसम्मत नेतृत्व छान्ने प्रयास गर्दा सुरुवाती कार्यतालिका प्रभावित भएको थियो।
एमाले सुप अध्यक्षका लागि कमल तिमिल्सिना र कृष्णप्रसाद जैसी चुनावी दौडमा छन्।
तिमिल्सिनालाई भीम रावललगायतले समर्थन गरेका थिए। तर उनी पछि अर्कैलाई उम्मेदवार बनाएको बताइएको छ। जोशीलाई ओली पक्षधरको समर्थन छ।
तिमिल्सिनालाई केन्द्रीय कमिटीमा ल्याउने र जैसीलाई सर्वसम्मत अध्यक्ष बनाउने ओलीको सन्देश थियो। तर तिमिल्सिना सहमत नभएपछि चुनाव हुने पक्का भएको हो।
एमाले सुपमा ओली पक्षधरका नेता कर्ण थापा, केन्द्रीय महासचिव शंकर पोखरेल पनि जैसीका पक्षमा खुलेर लागेका छन्।
अधिवेशनले १५५ सदस्यीय प्रदेश कमिटी निर्वाचित गर्ने छ।
एमालेले असोज महिनाभरिमा प्रदेश अधिवेशन गरिसक्ने छ।
लुम्बिनी, बागमती, कर्णाली र कोशी चुनावबाट नेतृत्व छानिएको छ। उपत्यका विशेष प्रदेशमा भने प्रेम पराजुली सर्वसम्मत अध्यक्ष छानिए।


