काठमाडौं- १९ वर्षअघि सौतेनी हजुरआमाको हत्या गरेर फरार भएका व्यक्ति साधुको भेषमा समातिएका छन्।
भरतपुर महानगरपालिका-२८ का ४३ वर्षीय कृष्ण भनिने तोयानाथ चापागाईंलाई प्रहरीले दुई दिनअघि नवपरासी पश्चिम बर्दघाट नगरपालिका-४ बाट पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार उनी त्यहाँको शिव मन्दिरमा साधुको भेषमा बसिरहेको बेला पक्राउ परेका हुन्।
२०६१ साल मंसिर १४ गते उनले भरतपुर महानगरपालिका-७ की ६५ वर्षीया मनकुमारी वाग्लेको हत्यापछि चापागाईं फरार थिए।
राति सुतेको अवस्थामा चापागाईंले बाँसको लौरो र ढुंगाले टाउकोमा प्रहार गरी वाग्लेको हत्या गरेका थिए।
हत्यापछि वाग्लेले कानमा लगाएको गरगहना लुटेर घरको ढोकामा साँचो लगाई चापागाईं फरार भएका थिए।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाको विशेष सूचनाका आधारमा उनलाई असोज २२ गते अपराह्न मन्दिरबाट पक्राउ गरिएको पण्डितले बताए। चापागाईंलाई प्रहरीले मंगलबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ।
अविवाहित चापागाईं हत्या भएको बखत २४ वर्षका थिए। यो बीचमा उनी कहाँ गए, कहाँ बसे प्रहरीले पत्ता लगाउन सकेको थिएन।
जब उनी मन्दिरमा भेष बदलेर बसिरहेको प्रहरीले जानकारी पायो, त्यसपछि खोजीमा जुट्दा चापागाईं साधु भेषमा फेला परे।
पण्डितका अनुसार चापागाईं हत्यापछि साधुको भेषमा कहिले भारतको बृन्दावन, मथुरा बस्थे। कहिले नेपालमा आएर त्रिवेणी, सिद्धबाबा, दाउन्नेका मन्दिरहरूमा बस्ने गरेका थिए।
‘कहिले पुजारी, कहिले माग्नेको भेषमा हिँड्ने गरेका उनी प्रहरीबाट जोगिँदै हिँडेका थिए,’ पण्डितले भने।
यो सूचना पाएपछि केही दिनअघि प्रहरी दाउन्ने पुगेको थियो। चापागाईं दाउन्ने देवी मन्दिरमा प्राय: बस्ने गर्थे।
तर, त्यसबेला उनी सिद्धबाबा मन्दिर गएका रहेछन्।
‘कहिले वृन्दाबन, स्वर्गद्वारी, जता जाँदा आफू जोगिन्छु भन्ने लाग्थ्यो त्यतै गएको बताउँछन्,’ पण्डितले भने।
मनकुमारी चापागाईंकी सौतेनी आमाकी पनि आमा हुन्। मनकुमारीकी बुहारी सुमित्रा वाग्लेले प्रहरीमा जाहेरी दिएकी थिइन्।
उनको जाहेरीमा तोयानाथ बेला–बेलामा घरमा आउने गरेको खुलेको छ। आफ्ना बाबु र सौतेनी आमाले आफू र आफ्नी आमालाई हेला गरेको उनले प्रहरीलाई बताएका छन्।
त्यसमाथि सौतेनी आमाकी आमा मनकुमारीको व्यवहारले आफू दिक्क भएको उनले बताएका छन्। तोयानाथले मदिरा सेवन गरेर मनकुमारीको हत्या गरेको स्वीकार गरेका छन्।
‘सौतेनी व्यवहारका कारण घटना गराएको उनले बताइरहेका छन्,’ पण्डित भन्छन्।
घटना भएको राति उनी मदिरा सेवन गरेर मनकुमारीको घर पुगेका थिए।
‘मदिराको सुरमा रहेका चपागाईंले घरमा एक्लै देखेपछि रिस उठेर हत्या गरेको बताएका छन्,’ पण्डितले भने।
चापागाईंलाई कर्तव्य ज्यानमुद्दामा अदालतबाट हिरासतमा राख्ने अनुमति लिई अनुसन्धान थालिएको पण्डितले बताए।


